• २५ मंसिर २०८१, मङ्गलबार

सडक किनारमा फोहोर जलाउँदा सास फेर्न कठिन

blog

गोकर्ण दयाल 

बैतडी, कात्तिक २९ गते । जिल्ला सदरमुकामको मुख्य बजार गोठालापानीनजिकै सडक किनारमा जम्मा भएको फोहोरको थुप्रोमा आगो लाग्दा निस्केको धुवाँका कारण सास फेर्न कठिनाइ हुन थालेको छ । सदरमुकामको फोहोर विसर्जन गर्ने डम्पिङ साइट नहुँदा दशरथ चन्द नगरपालिकाले मुख्य बजार जाने सडक किनारमै फोहोर फालेर आगो लगाउने गरेको छ । 

२०५४ सालमा स्थापना भएको दशरथ चन्द नगरपालिकाले २७ वर्षसम्म डम्पिङ साइट खोज्न नसक्दा नगरपालिका–४, गोठालापानी बजारको सडक किनारमै फोहोर विसर्जन हुँदै आइरहेको छ । डम्पिङ साइट नहुँदा सडक किनार दुर्गन्धित मात्रै बनेको छैन, धुवाँको मुस्लोले बजार, अस्पताल र क्याम्पस आवतजावत गर्ने यात्रुलाई श्वास फेर्न कठिन हुन थालेको छ । डम्पिङ साइटका लागि उपयुक्त जग्गाको खोजी भइरहेको दशरथ चन्द नगरपालिका सरसफाइ तथा वातावरण शाखा प्रमुख अमर कार्कीले बताउनुभयो । उहाँले डम्पिङ साइट नहुँदा कुहिने, नकुहिने र सिसाजन्य फोहोर सडक किनारमै फालेर आगो लगाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “सडक किनारमा फोहोरको थुप्रो धेरै भएपछि आगो लगाएर डढाउनुपर्ने बाध्यता छ । डम्पिङ साइटका लागि नगरपालिकाले जग्गा नखोजेको पनि होइन । यसअघि दशरथ चन्द नगरपालिका–४, तोलीमा ५० लाख रुपियाँ खर्च गरेर जग्गा किने पनि तलतिर मन्दिर भएकाले स्थानीयको विरोध गरेपछि फोहोर फल्न सकिएन । सो जग्गा अहिले सशस्त्र प्रहरी बल नेपाललाई दिइएको छ ।” उहाँका अनुसार नगरको फोहोर व्यवस्थापन गर्न दशरथ चन्द नगरपालिका–६ मा नयाँ डम्पिङ साइटका लागि जग्गा किन्ने कुरा चलिरहेको छ । जग्गाधनीले लालपुर्जा नगरपालिकामा दिएर गएकाले केही दिनभित्रै सो जग्गाको निरीक्षण हुने उहाँले जानकारी दिनुभयो । 

दशरथ चन्द नगरपालिकाभित्र सदरमुकामपछि देहिमाण्डौ र मुस्याचौर बजारको फोहोर पनि दशरथ चन्द नगरपालिका–२, कठपतेनजिकै सडकमाथि फाल्ने गरिएको छ । नगरपालिकाले फोहोरको वर्गीकरण नगरी सबै किसिमको फोहोर टिप्परमा जम्मा गरेर सडक किनारमा फालेर आगो लगाउँदै आइरहेको छ । निर्वाचनका बेला जनप्रतिनिधिले नगरपालिकालाई प्लास्टिकमुक्त बनाउने नारा सार्वजनिक गरे पनि खाद्यान्नका वस्तुमा समेत कालो प्लास्टिकको झोलाको प्रयोग भइरहेको छ ।