• २६ मंसिर २०८१, बुधबार

कृषकको मनोबल बढ्ने गरी सेवा गरौँ : कृषि मन्त्री श्रेष्ठ

blog

गण्डकी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठ ।

सन्तोष सुवेदी

कास्की, कात्तिक २८ गते । गण्डकी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले आम कृषकको हितलाई शिरोपर गर्दै विशिष्टीकृत सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । कृषकहरूको समस्या तथा गुनासो तत्काल सम्बोधन हुनेगरी उच्च मनोबलकासाथ सेवामा खटिन उहाँले निर्देशन दिनुभएको हो ।

मन्त्रालयद्वारा आयोजित आर्थिक वर्ष २०८१–८२ को त्रैमासिक प्रगति समीक्षा गोष्ठीको समापन कार्यक्रममा मन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘आम कृषकहरू प्रत्यक्ष लाभान्वित हुनेगरी कार्यालय सेवालाई थप चुस्त बनाउन आग्रह गर्दछु । कृषकहरू गुनासो वा कुनै समस्या लिएर कार्यालय आइपुग्दा तत्काल समाधान हुनेछ भने तत्काल र समय लाग्ने तवरको छ भने सोहीअनुसार निरूपण हुनेगरी काम अघि बढाउनु होला ।’’

कृषकलाई कृषि बिमाबारे अवगत गराउनु पर्ने उहाँको जोड छ । मन्त्री श्रेष्ठले अधिकांश पशुपालन गर्ने कृषकहरूले पशुको बिमा गर्ने गरेकोमा अन्नबालीतर्फ न्यून सङ्ख्यामा कृषकहरू बिमामा संलग्न भएकाले सम्पूर्ण कृषकमा कृषि बिमाको महत्वबारेमा जानकारी गराउनुपर्ने बताउनुभयो ।  

‘‘पशुपालन गर्ने अधिकांश कृषकले बिमा गर्नुभएको थाहा पाएँ । तर अन्नबालीलगायत खेती गर्ने कृषक बिमामा संलग्न भएको सङ्ख्या न्यून छ । अब सबै कृषकलाई कृषि बिमाको महत्वबारे जानकारी गराउँदै यसमा समेट्नु पर्दछ । यसले भइपरी हुने क्षतिबाट कृषकलाई राहत त मिल्छ नै, सँगै कृषि कर्ममा ढुक्क भएर अघि बढ्ने वातावरण तय हुनेछ’’ उहाँले भन्नुभयो ।