• १० मंसिर २०८१, सोमबार

‘संस्कृतिको जगेर्ना आवश्यक’

blog

गन्यापधुरा गाउँपालिका–२, बडाल पुगेर गन्याप देवताको दर्शन गर्नुहुँदै सभापति शेरबहादुर देउवा । तस्बिर : पुष्कर भण्डारी

अमरगढी समाचारदाता

डडेलधुरा, कात्तिक २८ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेलधुरा पुगेर देवीदेवताको दर्शन एवं कार्यकर्ता भेटघाटमा व्यस्त रहनुभएको छ । सोमबार परशुरामधामको दर्शन गर्नुभएका देउवाले मङ्गलबार गृह पालिका गन्यापधुरा पुगेर गन्याप देवताको दर्शन गर्नुभएको छ । 

देउवाले नाङ्गो तरबारको चौलोले प्रख्यात बडाला जाँत (जात्रा) को अवलोकन गर्नुका साथै गन्याप देवताको पूजाआजा गर्नुभएको हो । बडाल जाँतमा पुग्नुभएका देउवाले धार्मिक परम्परा संस्कृतिको जगेर्ना गर्नुपर्ने बताउनुभयो । सानै उमेरदेखि बडाल जाँतमा आएर पूजाआजासँगै मेलाको रौनकमा रमाउने गरेको उहाँले सम्झिनुभयो । विभिन्न कार्यक्रममा समेत बडालको चौलो देखाउने गरेको उहाँले बताउनुभयो । 

सभापति देउवाले भन्नुभयो, “हाम्रा संस्कार, संस्कृति परम्पराले पर्यटकलाई आकर्षित गर्छन्, हामी सबै मिलेर धार्मिक परम्पराको जगेर्ना गर्नु पर्छ । यसले आपसी भाइचाराको सम्बन्ध पनि प्रगाढ गर्छ ।” गन्यापधुरा गाउँपालिका–२, बडालमा रहेको लाटागन्याप देवताको पूजाआजा गरी बडाल जाँतमा दाइन दमाहा, रुसिङ्ग र भोकर बाजाको तालमा नाङ्गो तरबार नचाएर चौलो खेलिन्छ । धार्मिक शक्तिसँगै चौलोले प्रख्यात बडाल जाँतमा भागेश्वर देवतालाई गाँजले ढोग गरेपछि दिउँसोको मेला शुभारम्भ हुन्छ । प्राचीनकालदेखि चलिआएको छलिया जाँत हेरेपछि देवीदेवताको दर्शन र आशीर्वाद प्राप्त हुने जनविश्वास छ । 

दाइन, दमाहा, रुसिङ्ग, भोकर बाजागाजाका साथ स्थानीय हातमा तरबार खेलाई चौलो खेल्दै गाँज नचाइसकेपछि बडाल जाँत सम्पन्न हुने गर्छ । हातहातमा नाङ्गो तरबार खेलाएर नाचिने भएकाले बडालको चौलो सुदूरपश्चिमको एक पहिचान बनेको लाटागन्याप भूमि देवल क्षेत्र विकास समितिका अध्यक्ष पूर्णबहादुर देउवाले बताउनुभयो । सुदूरपश्चिमकै सबैभन्दा बढी दाइन, दमाहा र भोक्कर बजाइने मेलाका रूपमा समेत बडाल जाँत प्रसिद्ध छ । देउवाले बुधबार जिल्ला कार्यसमितिले आमन्त्रण गरेको बैठकमा सयदिने सङ्कल्प यात्राबारे पनि छलफल गर्ने उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।