• १९ पुस २०८१, शुक्रबार

तराई मधेशका जनताको आर्थिक स्तर उत्थान हुन सकेन : अध्यक्ष थापा

blog

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको वीरगन्जमा जारी दुई दिने तराई–मधेश राष्ट्रिय सम्मेलनमा सहभागी हुन आउनु भएका अध्यक्ष थापाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै । तस्बिर : दीपकप्रसाद गौतम

दिपकप्रसाद गौतम 

वीरगञ्ज, कात्तिक २७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अहिलेसम्मपनि तराई मधेशका जनताको आर्थिक स्तर उत्थान हुन नसकेको धारणा व्यक्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको वीरगन्जमा जारी दुई दिने तराई–मधेश राष्ट्रिय सम्मेलनमा सहभागी हुन आउनुभएका अध्यक्ष थापाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा तराई मधेशका जनताको आर्थिक स्तर उत्थान नभएको धारणा राख्नु भएको हो । 

तराई मधेशको उत्थान र जनताको आर्थिकस्तर उकास्नका लागि ‘तराई मधेश एकीकृत प्राधिकरण’ स्थापना गर्न उहाँले सरकारसँग माग गर्दै वीरगन्जमा जारी राप्रपाको दुई दिने तराई मधेस राष्ट्रिय सम्मेलनले प्राधिकरण स्थापना आवश्यक रहेको निर्णय गरेको समेत पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । 

मुलुकको आधा भन्दा बढी जनसङ्ख्या रहेको मधेसको विकासका लागि कम बजेट विनियोजन भएकाले जनताको आर्थिक स्तर र जीवनस्तर उत्थान हुन नसकेको जनाउँदै उहाँले आगामी दिनमा जनसङ्ख्याको आधारमा बजेट विनियोजन हुनुपर्ने धारणा राख्नुभयो ।  

अध्यक्ष थापाले तराई मधेशको सांस्कृतिक विविधतालाई अझ विस्तार गर्न मैथिली, भोजपुरी, अवधि र थारु भाषाको संरक्षण र संम्वर्द्धका लागि मातृभाषा संरक्षण आयोग गठन गरिनुपर्ने बताउनुभयो । तराई मधेसमा पछिल्लो समयमा धर्म परिवर्तनको महारोग बढिरहेको दाबी गर्दै त्यसतर्फ सबै सनातनीहरु सचेत सजक रहनुपर्ने बताउनुभयो । 

तराई मधेस मुलुककै अन्नभण्डार रहेको विगतमा यहीको अन्नले निर्भर रहेपनि पछिल्ला केही वर्षदेखि खाद्यान्न आयात गर्नुपर्ने अवस्था आएकाले यहाँको कृषि र सिँचाइ एकीकृत योजना बनाएर अघि बढाउन सके खाद्यान्नमा आत्मनिर्भर हुन सकिने उहाँले जनाउनुभयो । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको वीरगन्जमा जारी दुई दिने तराई मधेस राष्ट्रिय सम्मेलनमा २१ जिल्लाका दुई सयभन्दा बढी पार्टी प्रतिनिधिको सहभागिता रहेको उक्त सम्मेलनले आगामी पुसमा सुनसरीको चतराधामदेखि त्रिवेणीधामसम्म पार्टीको जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।