बासुदेव शर्मा
जाजरकोट, कात्तिक २७ गते। जाजरकोटको भेरी नगरपालिका-१२ रातापोखरास्थित छिन्जु जाजरकोट सडक खण्डमा फोर्स गाडी र जिप ठोक्किँदा ४ जना घाइते भएका छन्।
नेपालगन्जबाट जाजरकोट आउँदै गरेको लु २ ख ५८३६ नम्बरको फोर्स गाडी र विपरीत दिशा जाँदै गरेको लु १ च ५२९९ नम्बरको जिप भेरी नगरपालिका १२ रातापोखरा ठोक्किँदा लु २ ख ५८३६ नम्बरको फोर्स गाडीमा सवार १२ जना मध्य ४ जना घाइते भएका छन्।
घाइते ४ जनालाई उपचारको लागि जिल्ला अस्पताल जाजरकोट ल्याएको छ। लु १ च २५९९ नम्बरको जिपमा सवार ८ जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बताउनुभयो।
गाडी चालक रुकुम पश्चिम आठबीसकोट नगरपालिका-४ का विनोदकुमार परियार र जिप चालक नलगाड नगरपालिका-१३ का अशोक बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गाडीको अगाडिको भागमा क्षति भएको छ। गाडी एक आपसमा ठोक्किँएपछि रुकुम पश्चिम चौरजहारी नगरपालिका-३ की २७ वर्षीय सपनाकुमारी महर, नलगाड नगरपालिका-७ की ६३ वर्षीय गङ्गा विक, कुशे गाउँपालिका-६ की २१ वर्षीया माया तिरुवा, दाङ जिल्ला शान्तिनगर गाउँपालिका-७ की ३७ वर्षीया विमला थापालाई शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी पाण्डेले बताउनुभयो।