• १० मंसिर २०८१, सोमबार

उम्मेदवारको नाम टुङ्ग्याउँदै दल

blog

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङ ।

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक २७ गते । आउँदो मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि ताप्लेजुङमा राजनीतिक दलहरूले आफ्ना उम्मेदवारको नाम टुङ्गो लगाउन थालेका छन् । जिल्लाको एउटा मात्र स्थानमा हुने उपनिर्वाचनका लागि दलहरूले आफ्ना उम्मेदवारको नाम टुङ्गो लगाउन थालेका हुन् ।

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैँचामा वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको छ । सो वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा हालसम्म नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले आफ्ना उम्मेदवारको नाम टुङ्गो लगाई सकेका छन् । एमाले जिल्ला सचिव सन्तोष चाम्लिङका अनुसार पार्टीका तर्फबाट कुमारी साउदेन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै, माओवादी केन्द्रले अम्बि साउदेन लिम्बूलाई वडाध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला संयोजक विष्णुकुमार हाङ्बाङले जानकारी दिनुभयो । एमालेले बनाएको उम्मेदवार कुमारी यसअघिको निर्वाचितमा पनि वडाध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो । माओवादीका उम्मेदवार अम्बि हाल निर्वाचित वडा सदस्य हुनुहुन्छ । त्यस्तै नेपाली काँग्रेसले पनि आफ्नो उम्मेदवारको नाम टुङ्ग्याउने अन्तिम कसरत भइरहेको जनाएको छ । आकाङ्क्षी धेरै भएकाले समय लागेको जिल्ला कार्यसमिति सचिव डम्बर हाङ्गामले जानकारी दिनुभयो ।

यसैगरी सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि आफ्नो उम्मेदवारी दिने जनाएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उम्मेदवारी दिने सम्भावना रहेको बुझिएको छ । सिकैँचामा २०७९ सालको स्थानीय तह निर्वाचनमार्फत निर्वाचित वडाध्यक्ष दिलप्रसाद बोखिमले पदबाट राजीनामा दिएपछि उपनिर्वाचन हुन लागेको हो । जोखिम कांग्रेसका तर्फबाट उम्मेदवार भई वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

यता उपनिर्वाचनका लागि सिकैँचामा दुई वटा मतदानस्थल र दुईवटै मतदान केन्द्र रहने भएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । निमित्त जिल्ला निर्वाचन अधिकारी बान्दवराज दुलालका अनुसार सरस्वती माध्यमिक विद्यालय कुञ्जारी र दुर्गा माध्यमिक विद्यालय ओसेमा मतदानस्थल तथा केन्द्र रहेको छ । उक्त दुई केन्द्रमध्ये कुञ्जारीमा एक हजार २६ र ओसेमा ५०२ जना मतदाता रहेका दुलालले जानकारी दिनुभयो ।