• २७ पुस २०८१, शनिबार

अस्वाभाविक हवाई भाडा वृद्धिले श्रमिक मारमाः अध्यक्ष भण्डारी

blog

काठमाडौं, कात्तिक २७ गते । नेपाल वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले अस्वाभाविक रुपमा हवाई भाडा वृद्धि हुँदा वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मारमा परेको बताउनुभएको छ ।

अध्यक्ष भण्डारीले ट्राभल एजेन्सीहरुले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका लागि १० घण्टा बन्द गरेर उडान कटौती भएको मौकामा हवाई भाडा वृद्धि गर्दा वैदेशिक रोजगारीमा जाने श्रमिक मारमा परेको बताउनुभएको हो । उहाँले अस्वाभाविक रुपमा वृद्धि भएको हवाई भाडा सरकारले तत्काल नियन्त्रण गरी पुरानै भाडादर कायम गराउन माग गर्नुभयो । अध्यक्ष भण्डारीले कार्टेलिङ गरेर तीन सय प्रतिशतसम्म हवाई भाडा वृद्धि भएको दाबी गर्नुभयो । उहाँले अहिले अन्य समयमा ३०÷३५ हजारमा पाइने हवाइ टिकट अहिले एक लाखसम्म तिर्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान कटौती हुँदा टिकट नपाउने समस्या भोगिरहेका श्रमिकले भाडा महँगीका कारण श्रमिकहरुको बिचल्ली रहेको बताउनुभयो । उहाँले वैदेशिक रोजगारीमा जाने श्रमिकहरु हवाई भाडा वृद्धि र टिकट नपाउँदा अप्ठ्यारो अवस्थामा रहेको बताउनुभयो । उहाँले श्रम,पर्यटन र परराष्ट्र मन्त्रालयलाई हवाई भाडा नियन्त्रणको लागि दबाब दिइरहेको पनि बताउनु भयो । अध्यक्ष भण्डारीले नेपालबाट दैनिक १२ सयदेखि १५ सय र बिदामा आएर फर्किने ५ सय गरी दैनिक २ हजार जना विदेश जाने गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो,‘नेपालमा अन्तर्राष्ट्रिय उडानमा सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने श्रमिकले होल्ड गर्छन् । दैनिक रुपमा एक हजार दुई सयदेखि एक हजार पाँच सय नयाँ श्रमिकहरु विदेश जान्छन् । त्यस्तै दैनिक रुपमा विदेशबाट नेपाल आएर पुनः विदेश नै फर्कने करिब ५ सय  श्रमिकहरु हुन्छन् । अहिले दशैंतिहारको समय भएकाले विदेशबाट बिदा मनाउन नेपाल आएको अवस्था छ । अहिले दशैंतिहार सकिएर विदेश जाने चाप बढेको छ ।’

उहाँले अहिले नेपालमा पर्यटन आगमन वृद्धि हुने सिजन पनि हुँदा हवाई टिकट पाउन मुस्किल रहेको बताउनुभयो । उहाँले हवाइ भाडा बढ्दा अहिले कामदार पठाउन नसकिने अवस्था रहेको उल्लेख गर्नुभयो । उहाँले एयरलाइन्स र ट्राभल एजेन्सीहरुले कार्टेलिङ गरेर टिकटको मूल्य २÷३ सय प्रतिशतसम्म बढाएको आरोप लगाउनुभयो । अध्यक्ष भण्डारीले सिजनको समयमा विगतमा १५÷२० प्रतिशतसम्म हवाई भाडा बढ्ने गरेको भए पनि अहिले एकैचोटी २÷३ सय प्रतिशतले बढ्नु राम्रो नभएको बताउनुभयो । उहाँले ट्राभल एजेन्सीहरुले पहिले नै टिकट बुक गर्ने र महँगोमा बेच्ने गरेको बताउनुभयो । उहाँले एजेन्सीलाई टिकट बेच्न नदिने सहमति गरेको भन्दै कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले हवाई भाडा वृद्धि र टिकट नपाएपछि तेस्रो मुलुकबाट मानिसहरु विदेश जाने खतरा बढेको बताउनुभयो । 

उहाँले भन्नुभयो,‘नेपालमा ट्राभल एजेन्सीहरुले वायुसेवा कम्पनीहरुसँग टिकट किन्ने प्रचलन पनि छ । त्यसले गर्दा वैदेशिक रोजगारीमा जाने गन्तव्य मुलुकहरुको ४० देखि ४५ हजार पर्ने टिकट अहिले १ लाखमा पनि नपाउने अवस्था सिर्जना भएको छ । त्यो तेब्बर रुपमा वृद्धि हुँदा श्रमिकहरुले टिकट नपाएर बिचल्ली भएको छ । टिकट नपाएको अवस्थामा अस्वाभाविक रुपमा हवाई भाडा पनि बढ्यो । अस्वाभाविक हवाई भाडाँ वृद्धि हुँदा आगामी दिनमा बेथिति जन्माउँछ । नेपालबाट टिकट नपाउँदा तेस्रो मुलुकबाट जाने अवस्था आउँछ ।’

उहाँले हवाइ भाडाको कारणले गर्दा वैदेशिक रोजगारीमा जानेहरुको बिचल्ली भएको बताउनुभयो । उहाँले अचाक्ली रुपमा वृद्धि भइरहेको भाडाबारे पर्यटन मन्त्रालय र सरोकारवाला निकायले अनुगमन र नियन्त्रण गर्नुपर्ने बताउनुभयो । उहाँले विमानस्थल बिस्तार गर्ने समय अनुकूल नभएको पनि बताउनुभयो ।