• २७ पुस २०८१, शनिबार

भिरमौरी संरक्षणमा जुटे स्थानीय

blog

रोयलुङमा बसेका भिरमौरी ।

खोटाङ समाचारदाता

खोटाङ, कात्तिक २७ गते । भिरमौरी संरक्षणमा खोटाङको केपिलासगढी गाउँपालिका–३, बाँसपानीका स्थानीय जुटेका छन् । बाँसपानी र खार्ताम्छाको सिमानास्थित रोयलुङबाट दुई वर्षअघि डढेलोका कारण भागेका भिरमौरी पुनः फर्किएपछि स्थानीय संरक्षणमा जुटेका हुन् । 

बाँसपानी र खार्ताम्छाको सिमानामा रहेको लङखोलामा पिउरी छाँगा रहेको छ । त्यसमाथि रोयलुङ ढुङ्गामा अहिले भिरमौरी बस्न थालेपछि संरक्षणमा स्थानीय अग्रसर भएका छन् । रोयलुङ ढुङ्गामा यसअघि पनि भिरमौरी रहेका थिए । करिब दुई वर्षअगाडि उक्त ठाउँमा आगो लागेपछि भिरमौरी भागेका थिए । पुनः अहिले भिरमौरी आएर बस्न थालेपछि बाँसपानी र खार्ताम्छा दुवै वडाबाट तिनको संरक्षणमा जुटेको बाँसपानीका स्थानीय प्रदीप राईले बताउनुभयो ।

भिरमौरी रहेको ठाउँ रोयलुङ साम्पाङ राईहरूको इतिहाससँग समेत जोडिएको छ । साम्पाङ भाषामा रोय भनेको मौरी र लुङ भनेको ढुङ्गा बुझिन्छ । पहिलेदेखि नै त्यस ठाउँमा भिरमौरी बस्ने गरेकाले त्यस ठाउँलाई रोयलुङ भनिएको स्थानीयले बताएका छन् । हराएका मौरी अहिले आएर बस्न थालेपछि संरक्षण गर्न सुरु गरिएको राईले बताउनुभयो । भिरमौरी संरक्षणमा बाँसपानीका वडाध्यक्ष तुलाराम राई र खार्ताम्छाका वडाध्यक्ष मिलन राईले पनि ऐक्यबद्धता जनाउनुभएको छ । बाँसपानीका जनप्रतिनिधि र स्थानीयले शनिबार भिरमौरी बसेको ठाउँको अवलोकनसमेत गरेको बताएका छन् । 

केपिलासगढी गाउँपालिकाको फेदी र सुन्देल भिरमौरीले चर्चित छन् । उक्त ठाउँका भिरमौरीको संरक्षण गरेर पर्यटन प्रवर्धन गर्ने गाउँपालिकाले नीति नै लिएको छ । अब बाँसपानी र खार्ताम्छाको सिमानास्थित रोयलुङमा रहेका मौरीलाई पनि संरक्षण गर्न गाउँपालिकासँग पहल गरिने राईले बताउनुभयो । नजिकै रहेको पिउरी छाँगा र भिरमौरीलाई जोडेर पर्यटन प्रवर्धन गर्न सकिने स्थानीयको योजना छ । उक्त ठाउँबाट करिब एक सय मिटरनजिकसम्म सडक पनि पुगिसकेकाले पर्यटकलाई भिरमौरी हेर्न जान सहज रहेको उहाँको भनाइ छ । 

बाँसपानी र खार्ताम्छा दुवै वडाका स्थानीय मिलेर संरक्षण समिति निर्माण गर्ने उनीहरूको भनाइ छ । यसअघि पनि आगो लगाएर मौरी भागेकाले पुनः मौरीलाई असर पर्ने काम गर्नेलाई स्थानीय सरकारले दण्डित गर्ने नीति लिएको छ ।