• २७ पुस २०८१, शनिबार

होटेल, रेस्टुरेन्टको अनुगमन

blog

भैरहवाका होटेल तथा स्पा सेन्टरमा अनुगमन गरिँदै । तस्बिर : लक्ष्मण पौडेल

भैरहवा समाचारदाता 

भैरहवा, कात्तिक २७ गते । रुपन्देहीको भैरहवाका होटेल, रेस्टुरेन्ट तथा स्पा सेन्टरमा अनुगमन गरी देहव्यापारमा संलग्न भएको भन्दै आठ जनालाई पक्राउ गरिएको छ । सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीको नेतृत्वमा आइतबार साँझ अनुगमन गरिएको हो । 

होटेल, रेस्टुरेन्ट तथा स्पा सेन्टरको नाममा केही स्थानमा मापदण्डविपरीत काम भइरहेको धेरै गुनासो आएपछि अनुगमन गरिएको उपप्रमुख तथा नगरपालिकाको अनुगमन समिति संयोजक अधिकारीले बताउनुभयो । बसपार्क र देवकोटाचोक क्षेत्रमा सञ्चालित केही होटेल, रेस्टुरेन्ट तथा स्पा सेन्टरमा अनुगमन गरिएको उहाँले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “होटेलको नाममा देहव्यापारलगायत अन्य अवैध गतिविधि गर्न पाइँदैन । मापदण्ड र प्रक्रिया पूरा गरेर मात्र होटेल सञ्चालन गर्नु पर्छ ।” अनुगमनका क्रममा होटेल, रेस्टुरेन्ट तथा स्पा सेन्टरमा सरसफाइमा ध्यान दिन, यहाँ कार्यरत कर्मचारीलाई पोसाक र परिचयपत्रको अनिवार्य व्यवस्था गर्न सञ्चालकलाई सचेत गराइएको छ । उहाँले भन्नुभयो, “नेपालको कानुनले बर्जित गरेका कुनै पनि कार्य गर्न पाइँदैन । कानूनविपरीत कार्य गर्नेलाई कानुनी दायरामा ल्याउनु पर्छ । सभ्य समाज निर्माण गर्नु पर्छ ।” 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले बसपार्कलगायत अन्य क्षेत्रमा सञ्चालित होटेलमा अनुगमन गरिएको बताउनुभयो । 

सिद्धार्थनगर नगरपालिकाको उपप्रमुखसहित प्रहरीको संयुक्त टोलीले होटेलमा अनुगमन गर्दा अवैध क्रियाकलाप गरिरहेको अवस्थामा छ जना महिलालाई नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो । त्यस्तै दुई जना होटेल सञ्चालकलाई पनि नियन्त्रणमा लिइएको डिएसपी खनालले जानकारी दिनुभयो । केही फरार भएको उहाँले बताउनुभयो । 

होटेलमा अवैध किसिमका क्रियाकलाप भइरहेको जनगुनासो आएपछि अनुगमन गरिएको डिएसपी खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “नियन्त्रणमा लिइएका महिला तथा होटेल सञ्चालकलाई सोधपुछ तथा अनुसन्धानकै क्रममा छौँ, त्यसपश्चात् कानुनी प्रक्रिया अघि बढाउँछौँ ।”