• २७ पुस २०८१, शनिबार

आकर्षणको केन्द्र बन्दै तीनमुखे पुल

blog

गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने तीनमुखे पुल । तस्बिर : रमेश विश्वकर्मा

गुल्मी समाचारदाता

गुल्मी, कात्तिक २७ गते । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लालाई जोड्ने गरी निर्माण गरिएको तीनमुखे झोलुङ्गे पुल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएको छ । तीन जिल्लाको सङ्गमस्थल रिडीनजिकैको कालीगण्डकी नदीमा निर्माण गरिएको झोलुङ्गे पुलमा आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गरेका छन् ।

तीनमुखे झोलुङ्गे पुलले गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ रिडी, पाल्पाको तानसेन नगरपालिका–१४, अर्गली र स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१, चण्डी भन्ज्याङलाई जोडेको छ । पुलको अवलोकनसँगै पुलमा सवार गर्न र कालीगण्डकी नदीमा स्नान गर्न आउने पर्यटक बढ्ने गरेको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–१ का वडाध्यक्ष नवराज विकले बताउनुभयो । 

नेपालकै चारधाम मध्येको एक धाम भनेर चिनिने रुरुक्षेत्रमा तीनमुखे पुलको निर्माणसँगै निकै रमणीय बनेको छ । पुल निर्माणले धार्मिक पर्यटकमा मात्र नभएर अन्य पर्यटकको पनि आकर्षण बढेको छ । यस पुलको गुल्मीतर्फ देवदत्तपार्क, स्याङ्जातर्फ हनुमानबाटीका र पाल्पातर्फ ऋषिकेश मन्दिर रहेको उहाँले बताउनुभयो । गतवर्षदेखि रिडीमा निरन्तर रूपमा गण्डकी आरतीसमेत सञ्चालन गरिएको छ । 

पुल निर्माणले रिडीमा व्यापारसमेत बढेको छ । विशेष गरी पाल्पाको तानसेन नगरपालिका–१४ र स्याङ्जाको कालिगण्डकी गाउँपालिका–१ का स्थानीयको मुख्य बजार रिडी भएकाले यो पुल निर्माण भइसकेपछि जोखिम मोलेर बजार गर्न आउनुपर्ने बाध्यता अन्त्य भएको वडाध्यक्ष विकले बताउनुभयो । तीनमुखे पुल निर्माणका क्रममा कालीगण्डकी नदीको बिचमा नौ मिटर रनिङ गोलाई भएको स्तम्भ निर्माण गरिएको छ । 

पुलमा २५ मिटर उचाइको भ्युटावर, बिचमा निर्माण भएको स्तम्भबाट तीन जिल्लासम्म पुग्न तिनैतर्फ १७७.४ मिटर लामो झोलुङ्गे पुलको निर्माण भएको छ । धार्मिक तथा पर्यटकीय हिसाबले महत्व बोकेको रिडीमा देशकै पहिलो तीनमुखे झोलुङ्गे पुल करिब नौ करोड ८८ लाख २६ हजार ३३२ रुपियाँ लागतमा आठ वर्षको समयावधिमा निर्माण भएको हो ।