• २७ पुस २०८१, शनिबार

भरतपुरमा हिउँ खेल्न चाहनेलाई ‘स्नो पार्क’

blog

स्नो पार्कमा हिउँ खेलेर रमाउँदै ।तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल 

चितवन, कात्तिक २७ गते । तराईका जिल्लामा हिउँ खेल्न मन लागेको छ भनेर कसैले भन्यो भने हास्यपात्र बन्न सक्छ । हिउँ खेलेर रमाइलो गर्न मन हुनेहरू हिमालतिर जाने गरेका छन् । पर्यटन प्रवर्धनका लागि नयाँ नयाँ पूर्वाधार निर्माण गर्ने क्रममा चितवनका युवकले गरे के हुँदैन र ? भन्ने पुष्टि गरेका छन् । अब भने चितवनको भरतपुरमा नै बाह्रै महिना हिउँ खेल्न पाइने भएको छ । 

यहाँका युवा उद्यमी सुलक्ष पोखरेलले भरतपुर महानगरपालिका–९, मिलनचोकमा स्नो पार्क (हिउँ खोल्ने स्थान) निर्माण गर्नुभएको हो । दुई करोड रुपियाँको लगानीमा स्नो पार्क निर्माण गर्नुभएको छ । गत वैशाखदेखि निर्माण सुरु गरेकोमा भर्खरै सञ्चालनमा आएको हो । 

उहाँले लक्ष्मीपूजाको दिनबाट सञ्चालनमा आएको ‘स्नो पार्क’ पूर्ण तयारीका साथ सञ्चालनमा आउन भने केही समय लाग्ने जानकारी दिनुभयो । नवलपरासीको कावासोतीमा आइसक्रिम उद्योग सञ्चालन गर्दै आउनुभएका पोखरेलले भारतका विभिन्न स्थानमा ‘स्नो पार्क’ सञ्चालनमा रहेको देखेपछि आफूले पनि केही गरौँ भनेर भरतपुरमा निर्माण गरेको जानकारी दिनुभयो । 

पोखरेलले भन्नुभयो, “भारतको अहमदाबादमा मैले हिउँ खेल्ने ठुलो पार्क देखेँ, भारतमा बनाउन सकिन्छ भने भरतपुरमा किन सकिँदैन भन्ने लागेर आँट गरेको हो । हिउँ खेल्नकै लागि धेरै खर्च गरेर हिमालतर्फ जानुपर्ने, मौसम कुर्नुपर्ने बाध्यता अब रहेन ।” विद्युत्को माध्यमबाट कम्प्रेसर सञ्चालन गरेर चिसो बनाइएको छ । यसरी मेसिन सञ्चालन गर्दा प्रतिघण्टा ५० युनिट विद्युत् खपत भइराखेको उहाँले बताउनुभयो । चौबीसै घण्टा मेसिन सञ्चालन गरेर हिउँ निर्माण गरिएको छ । माइनस १० डिग्री तापक्रम निर्माण गरेर हिउँ बनाइएको हो । हिउँमा खेल्न मिल्ने चिप्लेटी, साना खेलकुदका सामग्री, माथिबाट हिउँ पर्ने व्यवस्थासमेत मिलाइएको पोखरेलले बताउनुभयो । 

प्राकृतिक रूप दिने गरी स्थान निर्माण गरी मनोरञ्जन प्रदान गरिने प्रयास भएको उहाँले बताउनुभयो । एक फुटभन्दा बाक्लो हिउँ जम्मा हुने भएकाले यहाँ खेल्दा अलग्गै आनन्द आउने उहाँको भनाइ छ । खेल्न आउनेलाई हिमालमा लगाउन मिल्ने कपडा र सामग्री उपलब्ध गराइने व्यवस्था रहेको छ । पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई प्रवेश निषेध गरिएको छ । 

हिउँ खेल्न पाइने पार्क निर्माणले पर्यटकीय क्षेत्रको विकास भएको भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ विश्व सुवेदीले बताउनुभयो । चितवन आएका पर्यटकलाई नारायणी नदी, निकुञ्ज, जङ्गल सफारी, धार्मिक स्थलसँगै कृत्रिम रूपमा निर्माण गरिएको हिउँ खेल्न पाइने व्यवस्थाले थप मनोरञ्जन दिने उहाँको भनाइ छ । यस्ता गतिविधिले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने उहाँले बताउनुभयो । चितवनको सौराहा, मेघौली र अन्य स्थानमा आएका पर्यटकलाई ‘स्नो पार्क’ सम्म ल्याउने वातावरण मिलाउन पहल भइरहेको सञ्चालक पोखरेलले जानकारी दिनुभयो ।