काठमाडौँ, कात्तिक २६ गते । लुम्बिनी लायन्सले सोमबार अभिनेता राजेश हमाललाई एनपिएलका लागि आफ्नो सद्भावना दूत घोषणा गरेको छ ।
सद्भावना दूत नियुक्त भएपछि हमालले भन्नुभयो, “लुम्बिनी लायन्ससँगको यस सहकार्यले मलाई अत्यन्त खुसी र गर्व महसुस गराएको छ । लुम्बिनी लायन्सको एनपिएलमा सफलता हासिल गर्ने लक्ष्य मात्र नभई समग्र क्रिकेट खेललाई नै प्रवर्धन गर्ने प्रतिबद्धता साँच्चै नै प्रेरणादायी छ । म यो सहकार्यमार्फत लुम्बिनी लायन्स तथा नेपाली क्रिकेटको प्रवर्धनमा आफ्नो योगदान दिन पाउँदा अत्यन्त उत्साहित छु ।”
लायन्सका अध्यक्ष ईश्वर जिसीले चलचित्र जगत्को ‘लायन’ लाई लुम्बिनी लायन्समा भित्र्याउन पाउँदा खुसी बनेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो लक्ष्य भनेको लुम्बिनी लायन्सलाई समग्र रूपमा एनपिएलको उत्कृष्ट टिम बनाउने हो र उहाँको आगमनले हाम्रो त्यही लक्ष्यतर्फको पाइलालाई झनै बलियो बनाएको छ । लुम्बिनीलाई एकदमै महत्व दिएर हामी अगाडि बढिरहेका छौँ । सोही अनुरूप कप्तान, सल्लाहकार प्रशिक्षक तथा ब्रान्ड एम्बेसेडर आबद्ध गरेका छौँ ।”