• १० मंसिर २०८१, सोमबार

‘अञ्जिला’ को प्रिमियर हङकङमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २७ गते । महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’ को आधिकारिक पोस्टर सार्वजनिक भएको छ । चलचित्रको वल्र्ड प्रिमियर मङ्सिर २३ गते हङकङमा हुने निर्माण पक्षले जानकारी दिएको छ । प्रिमियरमा अञ्जिलासँगै चलचित्रका निर्देशक मिलन चाम्स सहभागी हुनुहुने छ । 

हङकङमा प्रिमियर गरेपछि चलचित्र बेलायत, अमेरिका, अस्ट्रेलिया र जापानमा प्रदर्शन हुने निर्माता प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभयो । नेपालमा भने फागुन २९ गते चलचित्र प्रदर्शनमा आउने भएको छ । 

चलचित्रमा अञ्जिला आफैँ मुख्य भूमिकामा देखिनुभएको छ भने सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङको पनि अभिनय रहेको छ । निर्माता श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निर्वाह गर्नुभएको छ । चलचित्रको छायाङ्कन सुदीप बरालले गर्नुभएको छ भने सम्पादन मिलन श्रेष्ठको रहेको छ ।