• २७ पुस २०८१, शनिबार

ब्रान्डिङ हुँदै कोदोको मदिरा

blog

 प्युठान समाचारदाता

प्युठान, कात्तिक २७ गते । स्थानीय स्तरमा प्रशस्त मात्रामा पाइने कोदोबाट मदिरा बनाएर बिक्री गर्न स्थानीय पालिकाले पहल थालेका छन् । गौमुखी गाउँपालिकाले कोदोको रक्सीको ब्रान्डिङ थालेको छ ।

गौमुखी गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले पालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा विनियोजन गरेको बजेटबाट कोदोको रक्सीको ब्रान्डिङ थालेको बताउनुभयो । गौमुखी गाउँपालिका–३, रजबारामा स्थानीय समूहले उत्पादन गरेको रक्सीको ब्रान्डिङ गरिएको उहाँको भनाइ छ ।

कोदोको रक्सीलाई प्रवर्धन गर्ने गरी गौमुखी गाउँपालिकाले ४० युपिभन्दा माथिका मदिरा बिक्री वितरणमा रोक लगाएको छ । साउन १ गतेदेखि त्यस्ता मदिरा पालिकाभित्र बिक्रीवितरणमा रोक लगाएको गाउँपालिका उपाध्यक्ष रानाले बताउनुभयो ।

गौमुखी गाउँपालिकाका सबै वडामा प्रशस्त मात्रामा कोदो फल्ने गर्दछ । अहिले कोदोबाट घरेलु मदिरा उत्पादन हुँदै आएकोमा त्यसलाई नयाँ प्रविधिबाट ब्रान्डका रूपमा उत्पादन गर्ने पालिकाको योजना छ । कोदो वार्षिक तीन सय मेट्रिक टन उत्पादन हुने पालिकाको तथ्याङ्क छ ।

स्थानीय पदमबहादुर केसीले पालिकाले दुई वर्षअगाडि नीति बनाए पनि कार्यान्वयन ढिला भएको बताउनुभयो । “राम्रो नीति पालिकाले ल्याएको छ,” उहाँले भन्नुभयो, “प्रभावकारी रूपमा अझै कार्यान्वयन हुन सकिरहेको छैन ।” 

अहिले प्याकेजिङ गरिएको मदिरालाई पनि सिसाको बोटलमा प्याक गर्नुपर्ने उहाँको सुझाव छ । जिल्लाकै ऐरावती गाउँपालिकाले पनि नीति तथा कार्यक्रममा स्थानीय मदिरालाई प्रवर्धन गर्ने नीति अगाडि बढाएको छ ।