इमान सिं राना
रामपुर (पाल्पा), कात्तिक २६ गते । जिल्लाको रामपुर नगरपालिकाले नगरक्षेत्रभित्र भोलि (मङ्गलबार) सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
सोमबार बसेको नगर कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरेको हो । कालीगण्डकी क्षेत्रमा हरिबोधिनी एकादशी भव्य रूपले मनाइने भएकाले मङ्गलबार बिदा दिने निर्णय गरिएको रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले जानकारी दिनुभयो । कार्यपालिकाको बैठकपश्चात् नगरपालिकाले एक सूचना जारी गरी बिदा दिएको जानकारी दिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितले सूचना जारी गर्दै नगरपालिका मातहतका सम्पूर्ण सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी र शैक्षिक संस्थालगायतका कार्यालयमा बिदा दिइएको जानकारी दिनुभयो । ठुलो एकादशीको रूपमा लिइने हरिबोधिनी एकादशीको अवसरमा कालीनदी किनारअन्तर्गत रामपुर नगरपालिकाको केलादी घाट, रामघाट, कोप्चेघाट, तातोपानी, बर्दले, स्याउली बजार लगायतका विभिन्न स्थानमा मेला भर्न तथा स्नानका लागि भक्तजनहरू पुग्ने गर्दछन् । नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ ।