• १९ पुस २०८१, शुक्रबार

भारतीय प्रशिक्षक गम्भीरद्वारा रोहित र कोहलीको समर्थन

blog

रोहित शर्मा र विराट कोहली। फाइल तस्बिर

मुम्बई, कात्तिक २६ गते । भारतीय प्रशिक्षक गौतम गम्भीरले सोमबार रोहित शर्मा र विराट कोहलीलाई ‘अविश्वसनीय रूपमा कडा व्यक्ति’ भन्दै आलोचकहरूलाई गलत साबित गर्न र अस्ट्रेलियामा फर्म हासिल गर्न सक्षम रहेको बताउनुभएको छ ।

न्युजिल्यान्डसँग घरेलु मैदानमा भएको टेस्ट शृङ्खला ३–० ले हारेपछि कप्तान रोहित शर्मा र स्टार ब्याट्सम्यान कोहलीको आलोचना भएको छ । रोहितले तीन खेलमा ९१ रन र कोहलीले जम्मा ९३ रन बनाउनुभयो ।

ब्लकबस्टर पाँच खेलको टेस्ट शृङ्खलाका लागि भारत अस्ट्रेलिया प्रस्थान गर्नुअघि बोल्दै गम्भीरले ‘विराट र रोहितका लागि कुनै चिन्ता नभएको’ बताउनुभयो ।

“उनीहरू अविश्वसनीय रूपमा कडा मानिस हुन्”, उहाँले भन्नुभयो, “उनीहरूले भारतीय क्रिकेटका लागि धेरै हासिल गरेका छन् र भविष्यमा पनि धेरै हासिल गर्नेछन् ।”

अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले यी दुई वरिष्ठ ब्याट्सम्यानको दीर्घकालीन फर्ममाथि प्रश्न उठाएपछि गम्भीरले उहाँमाथि प्रहार गर्नुभयो । “भारतीय क्रिकेटसँग पोन्टिङको के सरोकार ?” गम्भीरले भन्नुभयो ।

न्युजिल्यान्डसँगको हारपछि सम्पूर्ण भारतीय टोली आफूलाई प्रमाणित गर्न उत्सुक रहेको गम्भीरले बताउनुभयो । यो घरेलु मैदानमा उनीहरूको दोस्रो टेस्ट शृङ्खला ह्वाइटवास हो । “मलाई लाग्छ त्यहाँ धेरै भोक छ, विशेषगरी पछिल्लो शृङ्खलामा जे भयो त्यसपछि”, उहाँले भन्नुभयो ।

गम्भीरले अस्ट्रेलियामा सबैभन्दा ठुलो चुनौती भारतको तुलनामा छिटो पिच हुने बताउनुभयो । त्यहाँका पिच परम्परागत रूपमा स्पिन अनुकूल छन् । तथापि गम्भीरले आफ्नो दबाबमा रहेको टोली नोभेम्बर २२ मा पर्थमा सुरु हुने सिरिजमा ‘पहिलो बलदेखि नै आक्रमण गर्न’ तयार रहेको बताउनुभयो ।

“हामी अस्ट्रेलिया धेरै पटक गएका छौँ, त्यसैले त्यो अनुभव महत्त्वपूर्ण हुनेछ”, केही आलोचनाको सामना गरिरहनुभएका उहाँले भन्नुभयो, “ हामी आफ्नो क्षमताअनुसार खेल्यौँ, हाम्रो सर्वश्रेष्ठ क्रिकेट खेल्यौँ भने हामी जुनसुकै विकेटमा जोसुकैलाई हराउन सक्छौँ ।” रासस/एएफपी