• १२ पुस २०८१, शुक्रबार

पालिकामा हुलाक कार्यालय स्थापना

blog

राप्तीसोनारीमा स्थापना गरिएको हुलाक कार्यालय । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक २६ गते । नेपाल सरकारको एक पालिका एक हुलाक नीतिअनुसार बाँकेको आठ वटै पालिकामा हुलाक कार्यालय स्थापना भएको छ ।  

सोक्रममा पछिल्लो पटक आइतबार जिल्लाको डुडुवाको कम्दी, नरैनापुरको नरैनापुर, राप्तीसोनारीको अगैया र बैजनाथको बनकटुवामा हुलाक कार्यालय स्थापना गरिएको जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्दप्रसाद पाण्डेले बताउनुभयो । 

उहाँले जानकीको मानपुर र खजुराको खजुरामा यसअघि नै हुलाक कार्यालय स्थापना भइसकेको बताउनुभयो । कोहलपुरमा इलाका हुलाक कार्यालय छ भने नेपालगन्जमा जिल्ला हुलाक कार्यालय रहेको छ । पालिकास्तरीय हुलाक कार्यालयमा खरिदारको कमान्डमा कर्मचारी परिचालन गरिएको प्रमुख पाण्डेले बताउनुभयो । 

विगतमा इलाका र अतिरिक्त कार्यालयका रूपमा रहेका हुलाक कार्यालयलाई अब स्थानीय तह अन्तर्गत सञ्चालन गरिएको उहाँले बताउनुभयो । बाँकेमा ११ इलाका र ३५ अतिरिक्त हुलाक कार्यालय रहेका थिए । 

बाँके जिल्ला हुलाक कार्यालयले लुम्बिनी प्रदेशका बर्दिया तथा कर्णाली प्रदेशका सबै जिल्लाको हुलाक स्टेशनरी र डाँक व्यवस्थापन गर्दै आएको छ । रेडियो नवीकरण, सूचना विभागबाट प्रवाह हुने सेवा पनि हुलाक कार्यालयबाट प्रदान हुँदै आएको पाण्डेले बताउनुभयो । 

एफ.एम. रेडियो तथा केवलको नवीकरण तथा अनुगमन, पत्रपत्रिकाको लोक कल्याणकारी विज्ञापनको भुक्तानी, प्रेसपास नवीकरण लगायतका सेवा प्रवाह पनि सोही कार्यालयबाट भइरहेको छ । 

हुलाक चिठीपत्र लगायत दस्ताबेज सम्बन्धित व्यक्ति वा संस्थासम्म पुगाउने विश्वसनीय माध्यम भएकाले सूचना प्रविधिको वर्तमान युगमा पनि यसको महत्त्व कायमै रहेको हुलाकका कर्मचारीहरूको भनाइ छ ।