अविनाश चौधरी
धनगढी, कात्तिक २६ गते । कैलालीमा बाख्रा चोरीको विषयमा झगडा हुँदा कुटपिटबाट एकको ज्यान गएको छ । गौरीगङ्गा नगरपालिका–११ कान्तिपुरका ३० वर्षीय सुरेश भुलको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बाख्रा चोरीको विषयमा शनिबार सुरेशमाथि कुटपिट भएको थियो । कुटपिटबाट घाइते भुलको उपचारको क्रममा सोमबार बिहान धनगढीस्थित निसर्ग अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।
उहाँले कुटपिटमा संलग्न एक महिलासहित पाँच जनालाई पक्राउ गरेको बताउनुभयो । पक्राउ पर्नेमा कान्तिपुर बस्ने ३० वर्षीय धर्म विक, २३ वर्षीय विशाल विक, ६५ वर्षीय जंग भुल, १८ वर्षीय प्रकाश भुल र ३४ वर्षीया रमा रावल छन् । उनीहरुलाई आजै बिहान पक्राउ गरेर मुद्दा चलाउने तयारी भइरहेको जनाइएको छ ।