• १२ पुस २०८१, शुक्रबार

जोखिमपूर्ण यात्रा गर्न बाध्य

blog

कावासोती समाचारदाता

कावासोती, कात्तिक २६ गते । नवलपुरको पहाडी क्षेत्रका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । राजमार्गदेखि उत्तरतर्फका पहाडी क्षेत्रतर्फ जाने ग्रामीण सडकको अवस्था जीर्ण हुँदा यस क्षेत्रमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।

राजमार्ग क्षेत्र गैँडाकोट नगरपालिकादेखि दुम्कीबाससम्मका बजार क्षेत्रबाट जिल्लाका पहाडी क्षेत्रमा जिप छुट्छन् । झन्डै डेढ/दुई घण्टाको फरकमा गाडी छुट्ने कारणले गर्दा यात्रुको चाप बढी हुने र जीर्ण सडकका कारण यात्रुले कष्टपूर्ण रूपमा ज्यानै जोखिममा राखेर यात्रा गर्न बाध्य भएको हुप्सेकोट गाउँपालिका–४, धौवादीका गनबहादुर आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “गाडीमा जति सिट क्षमतामा यात्रु चढ्छन्, उत्तिकै मात्रामा सवारी हुटमा पनि यात्रु चढ्ने भएकाले पनि यात्रा जोखिम हुने गरेको छ । गाडी कम चल्छन्, मान्छेलाई जसरी पनि पुग्नुपर्ने अवस्था हुन्छ, त्यसमाथि बाटो निकै खराब छ तर यो पहाडी क्षेत्रका बासिन्दाको बाध्यता हो ।” दलदले–धौवादी २४ किलोमिटर छ तर यहाँ एक चौथाइ मात्र कालोपत्रे भएको उहाँले बताउनुभयो ।