• २ मंसिर २०८१, आइतबार

हवाई भाडाको आलोचना

blog

कुनै पनि वस्तु वा सेवाको मूल्य निर्धारण निश्चित आधारमा हुन्छ । सामान्यतया वस्तु तथा सेवाको मूल्य माग र आपूर्तिबिच सन्तुलन कायम गर्दै तय गरिने अर्थशास्त्रीय मान्यता हो । यो खुला बजार प्रणालीको मान्यता भए पनि संसारका सबै बजार पूर्णतया खुला पनि हुँदैनन् र पूर्णतया नियन्त्रित पनि हुँदैनन् । नियमनकारी निकाय हुन्छन् र तिनको समेत निश्चित जिम्मेवारी हुन्छ । व्यापारिक मूल्यमान्यता र विवेक पनि हुन्छ । लागत लाभको पक्ष पनि छँदै छ । यसरी वस्तु तथा सेवाको मूल्य निर्धारणलाई बहुपक्षले सन्तुलनमा ल्याएको हुन्छ तर नेपालमा कतिपय क्षेत्रमा भने मूल्य निर्धारणमा उपभोक्ताको कुनै भूमिका हुँदैन । भए पनि अति न्यून हुन्छ । आपूर्तिकर्ताले नै एकपक्षीय तवरले मूल्य थोपर्छ । उपभोक्ता निरन्तर मारमा पर्छन् । अहिले हवाई भाडा एकतर्फी बढाएर यात्रुको ढाड सेक्न थालिएको छ । आन्तरिकदेखि बाह्य उडान एकाएक महँगो पर्न जाने भएपछि यसमा सबै पक्ष जागरुक भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत तथा स्तरोन्नति गर्नुपर्ने विषयबाट हवाई भाडा महँगीको निहुँ आरम्भ भएको छ । मर्मत तथा स्तरोन्नतिमा विमानस्थल कात्तिक २३ देखि दैनिक १० घण्टा बन्द गरिनुपर्ने भयो । विश्वमै विमानस्थल मर्मत तथा स्तरोन्नति सामान्य प्रक्रिया हो । विमानहरूलाई उडान भर्न थप सजिलो होस् भनेरै मर्मत तथा स्तरोन्नति गरिन्छ । विमानस्थल सकभर उडानलाई कम प्रभाव परोस् भनेरै कार्यतालिका तय गरिएको देखिन्छ तर विमानस्थल बन्द हुने जानकारीसँगै विमान कम्पनीहरूले भाडा बढाउने पहल गर्न थाले । सामान्यतया २० प्रतिशतदेखि कतिपयले दोब्बरसम्म भाडा बढाउने गृहकार्यले यात्रुहरूमा ठुलो मार पर्ने देखिएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली युवा भयानक मारमा पर्ने भएका छन् । कोरोनापछि बिस्तारै पम्पिन थालेको नेपालको पर्यटन व्यवसाय पनि फेरि थला पर्ने जोखिम बढेको छ ।

विमानस्थल मर्मत तथा स्तरोन्नति निम्ति उडानको समय कटौती बाध्यता हो । यही कारणले विदेशी वायुसेवा कम्पनीले काठमाडौँ उडानमा कटौती गर्न थालेका छन् । बाध्यताको कारण देखाएर वायुसेवा कम्पनीले पनि नेपालबाट हुने उडानमा दोब्बरसम्म भाडा बढाएपछि समस्या उत्पन्न भएको हो । हवाई भाडा नियन्त्रण गर्न केही पहल पनि भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित सरोकारीबिच यो विषयमा व्यापक छलफलबाट निकास प्रयास भयो । पाँचबुँदे सहमतिसमेत भएको छ । सहमति अनुसार विमान कम्पनीले ट्राभल एजेन्सीलाई पछि टिकट बिक्री गर्ने गरी एकमुस्ट रूपमा टिकट बिक्री गर्ने अधिकार खारेज गर्ने निर्णय भयो । यसबाट केही हदसम्म मूल्य नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा राखिए पनि भरोसा छैन । सहमतिपछि काठमाडौँ उडान भर्ने सम्पूर्ण वायुसेवा कम्पनीले एकमुस्ट टिकट बेच्ने अधिकार नदिँदा मूल्यमा दबाब नपर्ने ठानिएको छ ।

हवाई कम्पनीहरूले उपभोक्तालाई मर्का पर्ने गरी अनुचित हवाई भाडा असुल गर्न नहुने सहमति भएको छ । त्यस क्रममा सबै वायुसेवा सञ्चालकले दुईपक्षीय हवाई सेवा सम्झौताको ‘प्राइसिङ’ शीर्षकमा उल्लेख भए अनुसारको प्रावधान परिपालना गर्नुपर्ने छ । यसै गरी सबै वायुसेवा सञ्चालकले उडान वृत्तबमोजिमको हवाई भाडा सूची तोक्ने तथा सार्वजनिक गर्नुपर्ने निर्णयसमेत भएको छ । सहमतिका निम्ति सरकारको प्रयास सराहनीय देखिएको छ । विमानस्थल बन्द भएका कारण उत्पन्न समस्याबारे परराष्ट्र, श्रम र नागरिक उड्डयनमन्त्रीसहितको छलफलबाट विदेशी विमान कम्पनीहरूलाई सहमति गर्न दबाब सिर्जना भयो  तर अझै सङ्कट पूरै टरेको छैन । उडान कटौती नहुँदा मात्र नाफाखोरी बाटो बन्द हुन्छ भन्नेतिर ध्यान जानु जरुरी छ ।


पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल तयार भए पनि त्यहाँ अहिले पनि अति सीमित उडान मात्र छन्, उडान थप्न आवश्यक पहल आवश्यक छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प राम्रै गरी तयार भए पनि भारतसँग आकाशमार्ग पहुँचका निम्ति कतिपय बाधा खुलेको छैन । त्यसमा धेरै पहिलेदेखि गरिनु गृहकार्यमा अलमल भएको छ । नेपालमा बाह्य उडान महँगो भएपछि सडक मार्ग हुँदै भारतको नयाँ दिल्ली विमानस्थललगायतबाट बाह्य उडानको बाध्यता उपयोग गर्न यात्रुको विकल्प हुन सक्ने छ । यसबाट नेपालको पर्यटनमा प्रतिकूल असर पर्ने छ । यो भाडा वृद्धिलाई हरतरहले सन्तुलनमा ल्याउनै पर्छ । यसमा सरकार तथा सरोकार निकाय गम्भीर हुनै पर्छ । अन्यथा नेपाली उड्डयन बजारमा दीर्घकालीन असर पर्ने छ ।