• २८ मंसिर २०८१, शुक्रबार

एक घार मौरीले ल्यायो परिवर्तन

blog

अर्जुन काफ्ले 

स्याङ्जा, कात्तिक २६ गते । जीवन निर्वाहका लागि हामी भौँतारिँदै हिँड्छौँ । आफ्नै वरिपरिका अवसर देख्न र चिन्न नसकेर दुःख पाइरहेका पनि हुन सक्छौँ । परिश्रमीले आफ्नै वरिपरि अवसर देख्छन् ।

बिरुवा गाउँपालिका–६, गैह्रीका ६० वर्षीय पूर्णबहादुर थापा यसको उदाहरण बन्नुभएको छ । सामान्य कृषक थापाको पुरानो गाउँ चापाकोट नगरपालिका–९, पिपलडाँडा भए पनि ४० वर्षदेखि ज्याग्दीखोला गैह्रीमा कृषिसँगै जीवनयापन गर्दै आउनुभएको छ । 

तीन वर्ष मलेसियामा वैदेशिक श्रमको अनुभव गरेर फर्कनुभएको हो । अहिले थापाको आयआर्जनको माध्यम मौरी बनिरहेको छ । मौरीपालन गर्ने कुनै सोच नभएका थापाले जङ्गलमा काठ काट्ने सिलसिलामा एउटा रुखमा मौरीको गोला देख्नुभयो । 

त्यही जङ्गलबाट ल्याइएको सेरेना मौरी अहिले थापाको जीवनयापनको माध्यम बनेको छ । मुढेघारमा आफ्नै तरिकाले पाल्दै गरेको मौरी बिस्तारै आधुनिक घारको प्रयोगसँगै वृद्धि हुँदै जाँदा थापाका लागि अहिले आयआर्जनको माध्यम बनेको छ । 

थापासँग अहिले २५ घार पुगेका छन् । गत वर्ष आफूले खाएर र इष्टमित्रलाई दिएर पनि करिब एक क्विन्टल मह थापाले बिक्री गर्नुभएको हो । उहाँले भन्नुभयो, “लाग्छ, ती मौरीले मलाई नै पर्खेर बसेका रहेछन् । 

अहिले तिनै मौरीलाई थप विस्तार गर्ने योजनामा छु । यसका साथै गोला फुटाएर गोलासहितका घार बिक्री गर्ने सोचमा छु ।” 

आफूले मौरीपालन गरेर प्रगति गरेपछि छरछिमेकमा पनि मौरी पाल्ने रुचि बढ्न थालेको थापाले बताउनुभयो । ज्याग्दीखोला क्षेत्र मौरीपालनका लागि उपयुक्त रहेको छ भने चरनका लागि वन जङ्गलसमेत रहेको छ । 

यस क्षेत्रमा प्रशस्त वन बुट्यान छन्, त्यसैले चिनी  तथा चास्नी अहिलेसम्म प्रयोग गर्न नपरेको उहाँले बताउनुभयो । बजारको समस्या नरहेको बताउँदै थापाले घरबाटै बिक्री भएको र गाउँभन्दा बाहिरदेखि पनि माग आउन थालेकाले अब अरू विस्तार गरेर एक सय घार बनाउने सोच बनाएको बताउनुभयो ।  औषधीमा समेत प्रयोग हुने मह एक केजीको एक हजार चार सय रुपियाँमा बिक्री हुने उहाँले बताउनुभयो । 

आफ्नोसँगै जोडिएको चार रोपनी जग्गा ८० हजारमा बन्धकीमा लिएर खेतीपाती साथै अन्य उत्पादनमा जोडिएको थापाले बताउनुभयो ।