• २३ मंसिर २०८१, आइतबार

चौध हजार क्विन्टल धान खरिद

blog

काठमाडौँ कात्तिक २६ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न जिल्लामा धान खरिद प्रक्रिया अगाडि बढाएको छ । दसैँपछिबाट धान किन्न सुरु गरेको कम्पनीले हालसम्म १४ हजार ८५९ क्विन्टल धान खरिद गरेको जनाएको छ  ।

कम्पनीको चालु आर्थिक वर्ष २०८१/८२ मा ७३ हजार ६२० मेट्रिक टन धान खरिद गर्ने लक्ष्य रहेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिनुभयो । कम्पनीले सरकारले निर्धारण गरेको समर्थन मूल्यमा विभिन्न जिल्लामा धान खरिदको काम अगाडि बढाएको हो । 

सरकारले चालु आवका लागि मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४१० र मध्यम धानको प्रतिक्विन्टल तीन हजार ५८० रुपियाँ निर्धारण गरेको छ । सोही मूल्यमा कम्पनीले धान खरिद गरेको छ । किसानबाट धान खरिद गर्नका लागि यस वर्ष दुई अर्ब ६५ करोड रुपियाँ बजेट विनियोजन गरेको कम्पनीले जनाएको छ । 

कम्पनीले पहिलो चरणमा दाङको तुलसीपुरबाट २२३ क्विन्टल, कञ्चनपुरको महेन्द्रनगरबाट ८१२ क्विन्टल धान किनेको छ । यस्तै धनगढीबाट पाँच हजार ४८० क्विन्टल, बर्दियाको राजापुरबाट छ हजार ९९६ र बाँकेको नेपालगन्जबाट एक हजार ३५८ क्विन्टल धान खरिद गरेको कम्पनीले जनाएको छ ।

सूचना अधिकारी न्यौपानेले पाँच ठाउँबाट १४ हजार क्विन्टल धान खरिद गरिसकेको र अन्य जिल्लामा धान खरिद प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो । यस वर्ष विभिन्न २५ वटा जिल्लाबाट स्थानीय पालिकासँग समन्वय गरेर धान खरिद प्रक्रिया अगाडि बढाएकाले लक्ष्य अनुसार खरिद गर्न सक्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । कम्पनीले प्रत्येक वर्ष किसानबाट धान खरिद गर्दै आएको छ । गत वर्ष लक्ष्य अनुसार धान खरिद गर्न नसकेको कम्पनीले यस वर्ष धान खरिद गर्नका लागि स्थानीय पालिकासँग समन्वय गरेर धान खरिद गरेको जनाएको छ । 

कम्पनीले यस वर्ष कञ्चनपुर जिल्लाबाट एक हजार पाँच सय मेट्रिक टन, कैलालीमा पाँच हजार पाँच सय मेट्रिक टन, बर्दियामा १० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेको छ । यस्तै दाङमा आठ हजार मेट्रिक टन, कपिलवस्तुमा दुई हजार मेट्रिक टन, रुपन्देहीमा एक हजार आठ सय मेट्रिक टन, नवलपरासीमा दुई हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेको छ । 

चितवनमा एक हजार मेट्रिक टन, मकवानपुरमा एक हजार मेट्रिक टन, पर्सामा चार हजार पाँच सय मेट्रिक टन, बारा र रौतहटमा दुई/दुई हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ । 

सिराहामा चार हजार मेट्रिक टन, महोत्तरीमा तीन हजार मेट्रिक टन, धनुषामा चार हजार पाँच सय मेट्रिक टन, सप्तरीमा एक हजार पाँच सय मेट्रिक टन, सुनसरी र मोरङमा तीन/तीन हजार मेट्रिक टन, झापामा पाँच हजार मेट्रिक टन, उदयपुरमा आठ सय मेट्रिक टन, कास्कीमा ५० मेट्रिक टन र जुम्लामा २० मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । 

गत वर्ष कम्पनीले ५० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेकोमा चार हजार पाँच सय मेट्रिक टन मात्र धान खरिद गरेको थियो । गत वर्ष मध्यम धान प्रतिक्विन्टल तीन हजार ३६२ र मोटा धानको तीन हजार १९८ रुपियाँ मूल्य निर्धारण गरेको थियो । यस वर्ष गत वर्षको तुलनामा धान समर्थन मूल्य बढेकाले उत्पादन गर्ने किसानले धान बिक्रिी गर्दा बढी मूल्य पाएका छन् ।   

गत वर्ष सरकारले निर्धारण गरेको समर्थन मूल्यभन्दा बढी मूल्य दिएर व्यापारीले कृषकको धान खरिद गर्दा धान नपाएर खरिद गर्न नसकिएको कम्पनीले जनाएको छ । कम्पनीले कृषकबाट समर्थन मूल्यमा धान खरिद गरी कुटाएर दुर्गमसँगै सुगम जिल्लामा खाद्यान्न वितरण गर्दै आएको छ । कम्पनीले चामल, दाल, तेल र गेडागुडी बिक्रिी गर्ने गरेको छ ।