• २४ मंसिर २०८१, सोमबार

महिला साफ फुटबलको टिकट विक्रीमा भष्ट्राचार भएको आरोप

blog

फाइल तस्बिर ।

काठमाडौँ, कात्तिक २५ गते । हालै सम्पन्न साफ महिला फुटबल च्याम्पियनसिपको दर्शक टिकट विक्रीमा आर्थिक अनियमितता र भष्ट्राचार भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले आरोप लगाउनुभएको छ ।

खड्काले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी एन्फाद्वारा टिकट विक्रीका लागि गठन गरिएको  पाँच सदस्यीय समितिले नै एन्फाको आर्थिक नियमावली र कार्यविधिको उलङ्घन गरी भ्रष्टाचार गरेको आरोप लगाउनुभयो ।

एन्फा कार्यसमिसित बैठकले प्रतियोगिताको टिकट दर निर्धारण र व्यवस्थापनका लागि कार्यसमिति सदस्य पुरुषोत्तम थापाको संयोजकत्वमा विकास नारायण श्रेष्ठ, प्रवीण यादव, सुरेश शाह र दामोदर भट्टराईसहित पाँच सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिले कार्यसमितिको निर्णय र एन्फाको विधान विपरीत टिकट विक्रीका लागि टेन्डर आह्वान गरेको पनि खड्काले बताउनुभयो । 

टिकटका लागि माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले एन्फासँग ८० लाख रुपियाँमा टिकट विक्रीको अधिकार किनेको थियो । तर, माउन्ट एभरेस्टलाई भारतविरुद्धको तनावपूर्ण सेमिफाइनल खेलपछि सम्झौता विपरित क्षमता भन्दाबढी टिकट बेचेको आरोप लगाउँदै एन्फाले नेपाल र बङ्गलादेशबिचको फाइनलको टिकट आफैले बेच्ने निर्णय गरेको थियो ।

फाइनलमा एन्फाले साधारणतर्फ १० हजार र भिआइपीतर्फ १००० टिकट विक्री गर्ने निर्णय गरेको थियो । तर, एन्फाले निर्णयको पालना नगरी धेरै टिकट विक्री गरेको पनि खड्काको आरोप छ ।

‘‘अनियमितिता गर्नका लागि बिचमै टेन्डर रुद्ध गरेर टिकट आफै बेचियो । यसले एन्फालाई एक करोड ५० लाख रुपियाँ क्षति भएको छ । संस्थालाई पुगेको क्षति परिपूर्ति गर्न र दोषीलाई आवश्यक कारबाही गर्न माग गर्दछु,’’ पत्रकार सम्मेलनमा खड्काले भन्नुभयो ।  साफको फाइनलमा नेपाल बङ्गलादेशसँग २–१ गोलले पराजित भएको थियो ।