खलङ्गा समाचारदाता
जाजरकोट, कात्तिक २५ गते ।
हाई हाई हाई सुपारीका बोट, वायु घट्ट जगतीपुर रैगो,
दरबार जाजरकोट, माथि काल कैलाशैमा रुख ढल्यो आरिलको,
आशा छैन परानीको भर छैन शरीरको, पाँच पञ्च बस्यौका ठाउँमा राम बोलुकी हरि...
केही वर्ष पहिलेसम्म यस्तै बोलका पुराना गीत गुन्जिने गाउँघरमा अचेल यी गीत सुनिन छाडेका छन् । पुर्खाले संरक्षण गरेका मौलिक कला, संस्कृति युवा पुस्ताले ग्रहण गर्न नसक्दा पुराना मौलिक लोकनृत्य र गीतहरू लोप हुने अवस्थामा पुगेका छन् । केही वर्षअघि दसैँतिहारमा बज्ने मादल, ट्याम्की, झ्याली, नेवरको सट्टा ‘साउन्ड सिस्टम’ बज्ने गरेपछि पुराना पुस्ताका व्यक्ति चिन्तित भएका छन् ।
तिहारको पञ्चमीसम्म गाउँमा स्थानीय बाजाको मिठो स्वर गुञ्जायमान हुन्थ्यो । बर्सौंपछि भेटघाट भएका दिदीबहिनी, दाजुभाइले यस चाडलाई दुःख बिसाउने थलोका रूपमा लिने गरे पनि अचेल ती मौलिक कला संस्कृति हराउँदै गएका छन् । तिहारको भोलिपल्टैबाट गाउँघर सुनसान हुन थालेको छ ।
भेरी नगरपालिका–१३ का अम्बिकाप्रसाद आचार्यका अनुसार तिहार सुरु भएपछि गाउँमा मादल, टेम्की, नेवर, मुरलीको स्वर आएपछि नाचौँ नाचौँ हुने गथ्र्याे तर अचेल त्यो अवस्था छैन । भाइटीकाको भोलिपल्टदेखि मादलको स्वर लहरे पैसेरी नाच्ने परिवारको जेठो छोराको आयु, विद्या बढाउन आशिष्सहितको फाक गीत गाएर खसी दिने चलन रहे पनि मादल बजाउने र अघि नाच्ने मान्छे गाउँघरमा नहुँदा यो नाच नहुने गरेको उहाँले बताउनुभयो ।
केही वर्षअघि ५० भन्दा बढी मानिस लाइन लागेर नाचिने लहरे पैसेरी नाच अहिले करिब पाँच जनाले नाच्ने गरेका छन् । मौलिक कला, संस्कृतिबाट जीवनशैली, असल व्यवहार र उच्च नैतिकता सिक्ने, सिकाउने पौराणिक भाका लोप हुन थालेपछि अघिल्लो पुस्ता चिन्तित भएको छ ।
भेरी नगरपालिका–१३ का ध्रुवप्रसाद शर्माका अनुसार आफूहरूले सिकेको कला, संस्कृति भावी पुस्तालाई सिकाउन आवश्यक छ । पुराना लोकसंस्कृतिले गाउँबस्तीमा दाजुभाइ दिदीबहिनीको सम्बन्ध प्रगाढ बनाई एकअर्काप्रति आशा भरोसा जगाउने गर्छ । स्थानीय कला संस्कृतिलाई जोगाउन नसके दाजुभाइसँगको आत्मीयता र सहअस्तित्वको भावना हराउँदै जाने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
भेरी नगरपालिका–१३ का तुलाराम गिरीले मौलिकता लुकेका शब्द, स्थानीय बाजासँगै नाचिने नाच र लोकसंस्कृतिलाई स्थानीय सरकारले संरक्षण गर्नुपर्ने बताउनुभयो । पुरानो संस्कृति, रीतिरिवाज र लोकभाकाको संरक्षण गर्ने दायित्व रहेको स्थानीय सरकारले हरेक वर्ष बजेट व्यवस्थापन गरी कला संस्कृतिलाई जगेर्ना गर्नुपर्ने उहाँले बताउनुभयो ।