• २२ मंसिर २०८१, शनिबार

डिपो बस्तीले घेरिँदा उच्च जोखिम

blog

धनगढी, कात्तिक २४ गते । कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरस्थित नेपाल आयल निगमको इन्धन डिपो सार्न नमिल्दा उच्च जोखिममा रहेको छ । नेपाल आयल निगमले यस्तो समस्या रहे पनि डिपो सार्नका लागि जग्गा व्यवस्थापन नभएको जनाएको छ । 

घनाबस्तीनजिक डिपो रहेकाले पनि सुरक्षाको दृष्टिले उच्च जोखिममा देखिएको हो । २०३७ सालमा स्थापना भएको सो डिपो आसपास बस्ती थिएन तर हाल बस्ती भरिएको र मुख्य सडक नजिक रहेकाले असुरक्षित बनेको हो । डिपो मुख्य सडक छेउमा रहेको एक बिघा आठ कट्ठामा फैलिएको छ । डिपोको पर्खाल वरिपरि स्कुल, अस्पतालसँगै मानव बस्तीले घेरिएको छ । 

सोही कारण धनगढी उपमहानगरपालिका–३, चटकपुर निवासी धर्मसिंह–माधवी ऐरका परिवारलाई डिपोनजिक घर हुँदा रातमा निद्रा पर्दैन । माधवी ऐरले भन्नुभयो, “जग्गा किन्ने बेला डिपो नै थिएन, अहिले चिन्तामै बाँचिरहनुपरेको छ ।” 

स्थानीय केशव भट्टले डिपोका कारण स्थानीय सधैँभर त्रसित अवस्थामा बस्नु परेकाले डिपो स्थानान्तरणका लागि पटक पटक सरोकारवालालाई आग्रह गरिएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “डिपो नजिक भएका कारण घरमा आगो बाल्न पनि डराउनु पर्छ । विवाह, पूजा जस्ता शुभकार्य गर्दा झनै अत्यास हुन्छ ।” केही वर्षअघि डिपो नजिकै रहेको एक फर्निचर उद्योगमा आगलागी हुँदा कतिपय स्थानीय घरै छाडेर हिँडेको स्थानीय देवकी न्यौपानेले बताउनुभयो । डिपो नजिक हुँदा कतिबेला के हुन्छ त्रसित भएर बस्नु परेको उहाँको भनाइ छ । 

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमाल मुख्य बजारको बिचमा रहेको डिपोका कारण सुरक्षा चुनौती बढेको बताउनुहुन्छ । डिपो नजिक स्कुल, अस्पताल, बस्ती बाक्लो हुँदै दुर्घटना भयो भने ठुलो क्षति हुन सक्ने उहाँले बताउनुभयो । प्रमुख हमालले भन्नुभयो, “निगमलाई डिपो स्थानान्तरण गर्न पत्राचार गरे पनि प्रक्रिया अगाडि बढ्न सकेको छैन ।” 

निगमका उपनिर्देशक प्रदीप यादव डिपो स्थानान्तरणको प्रयास भइरहेको बताउनुहुन्छ । “डिपो घना बस्तीका बिचमा डिपो परिसक्यो, अब सार्नुको विकल्प छैन,” उहाँले भन्नुभयो । निगमले यसअघि समिति नै गठन गरी डिपो स्थानान्तरणका लागि जग्गा खोज्ने काम गरेको थियो । समितिले कैलालीकै टीकापुर र अत्तरिया तथा कञ्चनपुरको पुनर्बास क्षेत्रमा जग्गाको खोजी गरेको गरे पनि टुङ्गो नलाग्दा प्रक्रिया अगाडि बढ्न नसकेको यादवले जानकारी दिनुभयो ।

निगम प्रादेशिक कार्यालय धनगढीका प्राविधिक इन्जिनियर जगदीशप्रसाद जोशीले सरकारी स्वामित्वमा रहेको राष्ट्रिय आवास कम्पनीले कञ्चनपुरको पुनर्बास नगरपालिका–३ र ५ मा रहेको २२ बिघा जग्गा निगमलाई बेच्ने प्रस्ताव अघि बढाए पनि जग्गा खरिदमा भने अन्योल देखिएको बताउनुभयो  । डिपो साँघुरो हुँदा तेल बोक्ने ट्याङ्कर नजिकै रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जग्गामा भाडा राख्ने गरेको जोशीले जानकारी दिनुभयो । 

एक सातालाई पुग्ने भण्डारण 

सरकारले प्रत्येक प्रदेशमा कम्तीमा ९० दिनको माग धान्न सक्ने पेट्रोलियम भण्डारणगृह निर्माण गर्ने योजना बनाएको छ । हाल धनगढीमा रहेको डिपोको क्षेत्रफल साँघुरो र बस्ती नजिक रहेकाले भण्डारण क्षमता थोरै छ । 

कार्यालयका अनुसार डिपोमा हाल डिजेल भण्डारणका लागि ७६० किलोलिटरका दुई वटा ठाडा ट्याङ्की र ७० किलोलिटरको भूमिगत ट्याङ्क तथा पेट्रोल भण्डारणका लागि ७६० किलोलिटरको एक ठाडो ट्याङ्की र ७० किलोलिटरको भूमिगत ट्याङ्कीसहितका संरचना छन् । 

धनगढी डिपोबाट अहिले दैनिक एक सय किलोलिटर पेट्रोल, तीन सय किलो लिटर डिजेल तथा न्यून मात्रामा मटितेल बिक्री हुँदै आएको छ । भण्डारण क्षमता बढाउन सकिएन भने आपूर्तिमा अवरोध हुँदासाथ बजारमा तेलको आपूर्तिमा असहज हुने देखिन्छ । डिपोमा हाल सुदूरपश्चिम प्रदेशका लागि सात दिनको मात्रै माग धान्ने भण्डारण क्षमता रहेको छ । धनगढी डिपोले सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरा जिल्लामा पेट्रोलियम पदार्थको आपूर्ति गर्ने गरेको छ ।