• १२ पुस २०८१, शुक्रबार

‘भ्रष्टाचार नियन्त्रणका लागि आफै रूपान्तरण आवश्यक’

blog

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ।

अर्जुन काफ्ले

स्याङ्जा, कात्तिक २१ गते । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचार नियन्त्रणका लागि आफै रूपान्तरण हुन आवश्यक भएको बताउनुभएको छ । 

कात्तिक ९ गतेबाट गल्याङ नगपालिका–१ उत्तरबाहिनीमा कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले विद्या दान, अन्नदान तथा जीवनदानका लागि ११ करोड अक्षयकोष स्थापनार्थ आयोजित मातापिता पूजन एवं दामोदर महोत्सवलाई सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताउनुभएको हो ।

पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहनु भएका श्रेष्ठले आफूले देशको विकासमा ठुला अभियान चलाएको बताउँदै अबको आवश्यकता व्यक्तिको स्वरूपान्तरण भएको बताउनुभयो । उहाँले गृहमन्त्री हुँदा कर्मचारीलाई ध्यान शिविरमा राखेको र कार्यालयमा १५ मिनेट ध्यान अभियान चलाइएको बताउनुभयो । 

नेपालमा विभिन्न शाक्यमुनी वुद्ध र जनकको जन्म भएको बताउँदै श्रेष्ठले वाल्मीकि व्यास, पतञ्जलि, अष्टावक्र, पार्वतीको समेत सर्वत्र चर्चा रहेको बताउनुभयो । स्वामी चैतन्य कृष्णको आग्रहमा कार्यक्रममा आउनु भएका श्रेष्ठले बुद्धहरूको बस्तुनिष्ठ तथ्य सङ्कलन गर्दा नेपालीलाई गौरव प्रदान गर्ने अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिने, सबैले ज्ञान लिन सक्ने बताउनुभयो । 

धर्मका नाममा विभिन्न रुढीवादी कामहरू भइरहेको बताउँदै श्रेष्ठले विज्ञानविरुद्ध धर्मलाई उभ्याउने काम गर्दा धेरै गलत गतिविधि भइरहेको जिकिर गर्नुभयो । नेपालमा जन्मेर नेपालमै बुद्धत्व, ज्ञान र सिद्धप्राप्त गरेर आउनुभएका, सिगो मानव समाजलाई ज्ञान दिन सक्ने विभिन्न सिद्ध पुरुषको तथ्यगत विवरण खोजी गर्नुपर्ने श्रेष्ठको जोड छ । 

नेपाल हिमालको काखमा रहेको र हावापानी समेत राम्रो भएकाले मात्र बुद्ध पुरुष जन्मने र सिद्धी प्राप्तिका लागि आउने नभई यहाँ केही वैज्ञानिक कारण भएको दाबी गर्नुभयो । यहाँ गुरुकुल र अस्पताल बनिसकेको बताउँदै श्रेष्ठले ध्यान केन्द्र निर्माणको अवधारणा राम्रो रहेको र पार्टीको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।