• १२ पुस २०८१, शुक्रबार

काँक्रेविहारमा वनभोज बन्द

blog

ललित बसेल

सुर्खेत, कात्तिक २२ गते । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ मा रहेको पर्यटकीय, पुरातात्त्विक एवं ऐतिहासिक स्थल काँक्रेविहार संरक्षण क्षेत्रभित्र वनभोज खान तथा रमाइलो गर्न बन्देज लगाइएको छ । डिभिजन वन कार्यालय सुर्खेतले मङ्गलबार एक सूचना जारी गरी संरक्षण क्षेत्रभित्र रहेका वन्यजन्तुको असुरक्षा बढ्दै गएको, दुर्गन्ध फैलिएको तथा होहल्ला बढ्ने भएकाले अबदेखि वनभोज खान तथा रमाइलो गर्न पूर्ण रूपमा बन्देज लगाएको हो । 

काँक्रेविहारमा वनभोज तथा भोजभतेर गर्ने चलन थियो । उक्त सूचनामा काँक्रेविहार संरक्षित क्षेत्रभित्र हुने वनभोज तथा पार्टीले गर्ने होहल्ला जस्ता गतिविधिले वन्यजन्तु त्रसित हुने तथा जैविक विविधतामा नकारात्मक प्रभाव पर्ने भएकाले त्यस्ता गतिविधि पूर्ण रूपमा बन्देज लगाइएको जनाइएको छ । सूचनालाई अटेर गरी त्यस्ता गतिविधि गरेमा वन ऐन २०७६ बमोजिम कारबाही गर्ने चेतावनी पनि डिभिजन वन कार्यालयले जनाएको छ । 

कार्यालयका डिभिजनल वन अधिकृत वसन्तबाबु श्रेष्ठले विगतदेखि नै काँक्रेविहार क्षेत्रमा वनभोज, पार्टी जस्ता होहल्ला हुने गतिविधिमाथि रोक लगाउन आवाज उठेको र अहिले स्थानीय तह तथा वडा कार्यालयसँग समन्वय गरी रोक लगाइएको बताउनुभयो । काँक्रेविहार संरक्षित क्षेत्र नेपालकै पहिलो संरक्षित वन हो । संरक्षित वन क्षेत्रभित्र वनभोज जस्ता जैविक विविधतामा असर पुग्ने कुनै पनि गतिविधि गर्न पाइँदैन भन्दै उहाँले त्यसै अनुसार वीरेन्द्रनगर नगरपालिका र वडा नं. ९ सँग समन्वय गरी वनभोज र भोजभतेर जस्ता गतिविधिमाथि बन्देज लगाउने निर्णय गरिएको जानकारी दिनुभयो । काँक्रेविहारमा वनभोज खान बन्देज लगाउने भन्दै गत साउन महिनामा वनभोज स्थलमा वृक्षरोपण गरिएको थियो । विभिन्न जडीबुटी तथा घाँस प्रजातिका बिरुवा रोपिएको थियो । डिभिजनल वन अधिकृत श्रेष्ठले काँक्रेविहार क्षेत्रमा आगामी वर्षसम्म पनि वनभोजमा रोक रहने बताउनुभयो । 

उहाँले भन्नुभयो, “अबदेखि काँक्रेविहार संरक्षण क्षेत्रभित्र वनभोज तथा पार्टी गर्न, होहल्ला गर्न तथा जैविक विविधतामाथि नकारात्मक प्रभाव पर्ने कुनै पनि गतविधि गर्न पाइने छैन ।” १७६.७७ हेक्टर क्षेत्रफल रहेको काँक्रेविहारलाई नेपाल सरकारले विसं २०५९ वैशाख ३० गते नेपालकै पहिलो संरक्षित क्षेत्र घोषणा गरेको थियो । काँक्रेविहार रहेको वीरेन्द्रनगर नगरपालिका–९ का वडाध्यक्ष ऋषि गिरीले पनि स्थानीयको माग, वडा तथा नगरपालिकाको समन्वयमा डिभिजन वन कार्यालयले काँक्रेविहारमा वनभोज तथा होहल्ला हुने गतिविधिमा रोक लगाउने निर्णय गरेको बताउनुभयो । 

उहाँले उक्त कदमले त्यहाँ रहेका वन्यजन्तुको सुरक्षा हुने, फोहोर तथा दुर्गन्ध नहुनाले पर्यटकीय क्षेत्र र ऐतिहासिक स्थलको गरिमा बढ्ने विश्वास व्यक्त गर्नुभयो । वनभोज खान दिँदा सिसाका बोतल, प्लास्टिकजन्य वस्तुको डङ्गुर हुने, ठुलो ठुलो स्वरमा गीत बजाउँदा वन्यजन्तु त्रसित भएर भाग्ने र पर्यटकीय स्थलको महत्व घटेको आवाज उठेको थियो । काँक्रेविहार क्षेत्रमा दसैँतिहारपछि वनभोज खान जानेको ठुलो भिड लाग्ने गरेको छ । यो अवधिमा दैनिक ४० देखि ५० समूहसम्म वनभोज खान आउने गरेको वडाध्यक्ष गिरीले बताउनुभयो । 

यता डिभिजन वन कार्यालयको उक्त सूचनापछि स्थानीय बासिन्दा पक्ष र विपक्षमा उत्रिएका छन् । कतिपयले काँक्रेविहारमा वनभोज, पार्टी जस्ता गतिविधिमा रोक लगाएको राम्रो भनेका छन् भने कतिपयले विरोध जनाएका छन् । स्थानीय लोकजङ्ग भोटेले सामाजिक सञ्जालमा वनभोजमा रोक लगाउनुभन्दा पहिला काँक्रेविहारको पर्खाल र मूल गेट निर्माण गर्न आग्रह गर्नुभएको छ । उक्त सूचनाको कार्यान्वयन हुन नसक्ने भन्दै उहाँले वन्यजन्तुको सुरक्षा गर्न तारबार गर्नुपर्ने बताउनुभएको छ । यस्तै अर्का स्थानीय केशव कोइरालाले काँक्रेविहार संरक्षण क्षेत्रको संरक्षणका लागि वनभोजमा रोक लगाउने निर्णयले वन्यजन्तुको संरक्षण र सरसफाइ बढ्ने भन्दै स्वागत गर्नुभएको छ ।