• २२ कात्तिक २०८१, बिहिबार

छठ पूजाको पहिलो अर्घको तयारी

blog

सर्लाहीमा तयार पारिएको छठ घाट । तस्बिर : जनार्जन खत्री

मधेश प्रदेश ब्युरो

जनकपुर, कात्तिक २२ गते । मधेश प्रदेशका जिल्लामा छठ पर्वको मुख्य दिन बिहीबार पहिलो अर्घ अर्पणको तयारी गरिएको छ । प्रदेशका जलाशयका घाटलाई आकर्षक रूपमा सजाएर तयार गरिसकेको छ भने बिहीबार पहिलो अर्घ अर्थात् अस्ताउँदो सूर्यलाई दिइने छ । छठपूजा सामग्रीको पहिलो अर्घ दिएपछि शुव्रmबार उदाउँदो सूर्यलाई सोही सामग्रीको अर्घ दिएपछि छठ पर्व समापन हुने छ ।   

छठ घाट सजाउन सात लाख सहयोग

लहान समाचारदाता जीवछ यादवका अनुसार लहान नगरपालिकाको उत्तर पूर्वबाट बग्ने खुटी खोलामा छठ घाट सजाउनका लागि नगरपालिकाले सात लाख रुपियाँ सहयोग गरेको छ । लहान नगरपालिकाबाट पहिलो पटक यस्तो सहयोग गरेको जनाएको छ । 

लहानको सहरी क्षेत्रका वडा नं. १, ४, ५, ६, ७, ८, ९, र १० का हजारौँ भक्तजनले मनाउने छठ पर्वको घाट सजाउन व्यक्तिगत खर्च गर्दा सजावटबाट गरिब धनी देखिने गरेको छठ घाट निर्माण समितिका अध्यक्ष समाज सेवी नवीन गुप्ताले सुनाउनुभयो । उहाँले भन्नुभयो, “गरिब धनी सबैको घाट एकै किसिमको होस् भन्ने उद्देश्यले नगरप्रमुख महेशप्रसाद चौधरीले वडा नं. ४, ५, ७ र ८ का वडाध्यक्ष रामनाथ पण्डित, मो. करिम, रामऔतार शर्मा र श्याम सोनीको माध्यमबाट छठ घाट सजाउन रकम खर्च गरिने छ ।”

नगरपालिकाले यस वर्ष छठ घाट निर्माणका लागि गरेको सहयोगले दलित विपन्न समुदायलाई ठुलो राहत मिलेको लहान–६ की रामकुमारी पासवानले बताउनुभयो । उहाँका अनुसार छठ पर्वको केरादेखि हरेक किसिमका पूजा सामग्री खरिद गर्न पाँच हजार रुपियाँभन्दा बढी खर्च हुने अवस्थामा छठ घाट निर्माणका लागिसमेत खर्च गर्नुपर्दा गरिब वर्गका लागि निकै गाह्रो पथ्र्यो । नगरपालिकाको सहयोगमा छठ घाटमा विद्युत् जडानसमेत भएकाले सबैलाई सहज भएको व्रतालुले बताएका छन् । 

सात वटा वडाका भक्तजनका लागि लहान–४ देखि १० नम्बर वडासम्म खुटी खोलाको पश्चिमी किनारमा नगरपालिकाको जेसिबी, ट्याक्टरको प्रयोग गरेर घाट निर्माण भइरहेको लहान–७ का वडाध्यक्ष रामऔतार शर्माले जानकारी गराउनुभयो । खुटी खोलाको किनारमा रहेको सघन मुस्लिम बस्तीका स्थानीयसमेत छठ पर्वमा सहभागी भएर सामाजिक एकता र सद्भाव देखाउँदै आइरहेका लहान–५ का वडाध्यक्ष मो. करिमले बताउनुभयो । उहाँले भन्नुभयो, “खुटी नहरको सरसफाइ र पर्व मनाउन आउने श्रद्धालु भक्तजनलाई मनोरञ्जन गर्न झन्डा पार्कको सौन्दर्यीकरण गर्न नयाँ राष्ट्रिय झन्डाबाट सजाइएको छ ।”

नगरपालिकाले हिन्दु र मुस्लिम समुदायले मनाउने पर्वलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाउन लहान नगरपालिकाका २४ वटै वडाका वडाध्यक्षसँग समन्वय गरेर काम गर्ने नगरप्रमुख चौधरीको भनाइ छ । उहाँले यसै वर्षदेखि खुटी खोलाको छठ घाटमा आपसी भेटघाट शुभकामना आदानप्रदान गर्नसमेत व्यवस्था मिलाइएको बताउनुभयो । छठ मनाउने खुटी खोलाको पूर्वपट्टि र पश्चिमपट्टि दुई वटा सुविधाजनक शौचालय निर्माणले खुटी खोलाको सरसफाइले गति लिएको स्थानीयवासीले बताउनुभयो ।

व्रतालुको पर्खाइमा छठ घाट 

सर्लाही समाचारदाता जनार्जन खत्रीका अनुसार छठपुजाका लागि तयार पारिएका छठ घाट व्रतालुको पर्खाइमा रहेका छन् । बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ चढाउनका लागि छठ घाट तयार भएको हो । सर्लाहीमा मात्रै २० वटा पालिकाका दुई सय भन्दा बढी स्थानमा छठ घाट निर्माण गरिएको छ । 

बागमती, लखन्देही, झिम, बाँकेलगायतका खोलासहित जिल्लाभरका पोखरी, नहरलगायतका जलाशयमा छठ घाट निर्माण गरिएको स्थानीयले बताएका छन् । गाउँले, वडा कार्यालय, नगरपालिकालगायत निकायको सहयोगमा छठ घाट तयार पारिएको छ । केही स्थानमा पोखरी खनेर छठ घाट निर्माण गरिएको छ । व्रतालुले छठका लागि आवश्यक पर्ने सरसामग्रीको जोहो गरिसकेका छन् । 

छठ पर्वको दोस्रो दिन बुधबार व्रतालुले ‘खरना’ विधि सम्पन्न गरेका छन् । छठको पहिलो दिन मङ्गलबार ‘नहाय–खाय’ विधि सम्पन्न गरेका व्रतालुले बुधबार कात्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ विधि पूरा गरेका हुन् । ‘खरना’ का दिन पवित्र स्नान गरी निराहार उपवास बसेर राति सक्खरमा पकाइएको खिर कुलदेवता र छठी देवीलाई चढाइ खाने गर्छन् । यो विधिलाई ‘खरना’ भनिन्छ । श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलो र माटाकै भाँडामा सखर, दुध र मङ्सिरमा पाक्ने स्थानीय जातको धानको चामल मिलाइ पकाइएको खिर केराको पातमा राखेर छठी मातालाई चढाएर व्रतालु र परिवारका अरू सदस्यले प्रसादका रूपमा खाने गर्छन् । पर्वको तेस्रो दिन बिहीबार अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख व्रतालुले नजिकैको जलाशयमा बनाइएको छठ घाटमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिने छन् । 

यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ । त्यसै गरी सप्तमीका दिन बिहान व्रतालुले उदाउँदो सूर्यलाई दोस्रो अर्घ दिएर पर्व समापन गर्ने मैथली चलन छ । उदाउँदो सूर्यलाई दिइने अर्घलाई मिथिलामा ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ । अर्घ दिँदा पहिले जटासहितको नरिवल र त्यसपछि व्रmमशः पर्वका लागि पकाइएका मिष्ठान्न परिकार र केरासहितका फलफूल सूर्यदेवलाई देखाउने चलन छ । 

छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्तकहाँ पु¥याउन जाने मैथली परम्परा छ । अर्घ दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । मधेशका गाउँ गाउँमा छठका गीत गुञ्जिरहेका छन् । छठ घाटमा व्रतालु, परिवारका सदस्य र अन्य मानिसको भिडभाड हुने भएकाले सोही अनुसार सुरक्षा प्रबन्ध मिलाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

केरा आयातमा कडाइ

बर्दीबास समाचारदाता रवीन्द्र उप्रेतीका अनुसार छठका लागि केराको माग बढिरहेको समयमा सीमा नाकामा भने केरा आयातमा कडाइ गरिएको छ । स्वदेशी उत्पादनले माग धान्न नसकेका बेला भारतबाट सहज आयात हुन नसक्दा बजारमा केराको मूल्य आकासिएको छ । सीमावर्ती भारतीय बजारमा केरा किन्नकै लागि नेपालीको भिड बढेको छ । 

 यतिबेला जनकपुरदेखिका फलफूल व्यापारीले केराका घरी आयात गर्ने पटक पटक इजाजत माग्दा भन्सार र क्वारेन्टाइनले अस्वीकार गरेको व्यापारीको गुनासो छ । यसैबिच जलेश्वर भन्सार नाकास्थित प्लान्ट क्वारेन्टाइनले भारतीय केराको आयातमा थप कडाइ गरेको छ । क्वारेन्टाइनले केराका घरी त आउनै दिएको छैन । क्यारेटमा केराको काइँयो बोकेर आएका भारतीय सवारीका चक्का, वडी र सवारी स्टाफले लगाएका जुत्ता चप्पललाई पनि निगरानीमा राख्न थालेको छ । 

क्वारेन्टाइन प्रमुख किशोर यादवका अनुसार केरामा लाग्ने घातक रोग ‘पनामा बुइल्ड’ का कारण आयातमा कडाइ गरिएको हो । उहाँका अनुसार अहिले भारतको बिहार र उत्तर प्रदेशमा यो रोगको सङ्क्रमण देखिएको छ । नेपालमा ती प्रान्तबाट केरा आयात हुने हुँदा केरासँगै रोग नभित्रियोस् भनेर कडाइ गरिएको हो । घरीबाट पनि ‘पनामा’ रोग सर्ने सम्भावना भएकाले काइँयो मात्र आयात गर्न दिइएको उहाँको भनाइ छ । 

नेपालको कैलाली टीकापुरमा ‘पनामा’ रोगको टिआर–४ सङ्क्रमण पुष्टि भइसकेको छ । मुलुकका थप क्षेत्रमा रोग फैलिन नदिन प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले भदौ १० गते परिपत्र गरेदेखि केरा पैठारी नियमन तथा निरीक्षण र छोडपुर्जी सम्बन्धमा जलेश्वर भन्सार नाकास्थित प्लान्ट क्वारेन्टाइनले कडाइ गर्न थालेको हो । क्वारेन्टाइनले अहिले केरामा मात्र कडाइ गरेको छैन भारतबाट केरा बोकेर आएका सवारी र तीनका चालक सहचालकलाईसमेत ब्लिच सोलुसनले निसङ्क्रमण (स्यानिटाइज) गरेर मात्र छोड पुर्जी दिने गरेका छन् । 

क्वारेन्टाइन प्रमुख यादवका अनुसार केरा बोक्ने गाडी केरा घारीभित्रै प्रवेश गरेका हुन्छन् । घारीमा कुल्चिएका माटो, बोट, पात र थाम जस्ता वस्तुमा ‘पनामा’ रोग सार्ने जीवाणुयुक्त टिआर–४ ढँुसी टाँसिएर आउने हुँदा भारतबाट केरा बोकेर आएका सवारीका चक्का र चालक सहचालकका जुत्ता, चप्पललगायतका सामानलाई १० प्रतिशत ब्लिच सोलुसनले सङ्क्रमण उपचार गरेर मात्र छोड पुर्जी दिने गरेको उहाँले बताउनुभयो । यसैबिच छठका लागि भारतबाट केराको घरीलाई नै आयात गर्न दिन जनकपुरदेखिका व्यापारीबाट दबाबसमेत आएको नाकाका कर्मचारीको भनाइ छ ।  यादवले भन्नुभयो, “चाडपर्वप्रति हामी सबैको आस्था  छ । तथापि कुनै पनि अवस्थामा रोग भित्रिन त दिनुभएन । त्यसैले कडाइ गरेका हौँ ।” प्लान्ट क्वारेन्टाइनले कडाइ गरेपछि केराको आयातमा कमी आएको छ । 

जलेश्वर भन्सारस्थित गेट तथा यात्रु शाखा प्रमुख विष्णु भुषालका अनुसार कडाइका कारण चालु आव (२०८१/८२) को कात्तिक १९ गतेसम्म भारतबाट ३६ लाख ८८ हजार ७२६ रुपियाँ मूल्य बराबरको एक लाख १५ हजार ९२४ केजी केरा मात्र आयात भएको छ । जब की गत आव २०८०/८१ को यसै अवधिमा दुई करोड ४८ लाख ५७ हजार मूल्यको पाँच लाख ८३ हजार ८५७ केजी भारतीय केरा आयात भएको भुषालले बताउनुभयो । 

जलेश्वर भन्सार प्रमुख राजेन्द्र बस्नेतका अनुसार पनि केराको आयात खुकुलो पार्न व्यापारीबाट निकै दबाब आएको थियो । रोग सङ्क्रमणका कारण कानुनले नै निषेध गरेको बताएपछि भारतीय केराको आयातमा उल्लेख्य कमी आएको उहाँले बताउनुभयो । 

के हो पनामा रोग र टिआर–४ सङ्क्रमण ?

जलेश्वर क्वारेन्टाइन प्रमुख किशोर यादवका अनुसार पनामा रोग ‘पःयुजारियम अक्सिपोरियम क्युवेनिस’ नामक जीवाणुबाट केरामा फैलने घातक रोग हो । ‘पःयुजारियम’ ढुसीका कारण लाग्ने ‘पनामा’ रोगबाट केराका बोट ओइलाउँदै र सुक्दै जान्छ । यसको महामारीले केराका बोटदेखि बगानसम्म पूर्ण रूपले नष्ट गर्छ । गत वर्ष (२०८० साल) मा कैलालीको टीकापुरको केरा घारीबाट लिएको नमुनाको ल्याब परीक्षण गरी नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले त्यहाँको केरा खेतीमा ‘पनामा’ रोगको सङ्क्रमण पुष्टि गरेको थियो । 

लगत्तै राष्ट्रिय बाली रोग अनुसन्धान केन्द्र खुमलटारले यसै क्षेत्रबाट सङ्कलन गरेको नमुना हङकङको जिनोमिन इन्स्टिच्युटमा परीक्षण गराउँदा नयाँ भेरियन्ट ‘ट्रपिक रेस ४’ अर्थात् टिआर–४ पुष्टि भएको थियो । उहाँले भन्नुभयो, “टिआर–४ भनेको केरामा ‘पनामा’ रोग फैलाउने ‘पःयुजारियम अक्सिपोरियम क्युवेनिस’ को नयाँ प्रजाति हो । यो निकै घातक हुन्छ । यसले खेतमा लगाइने सबै जातका केराका बोटलाई पूर्ण रूपले नष्ट गर्ने हुँदा भारतीय केराको आयातमा कडाइ र निगरानी बढाएका हौँ ।”