• १० मंसिर २०८१, सोमबार

नेतृत्वदायी सेवा प्रवाह गर्न सुझाव

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २२ गते । नेपाल पुनर्बिमा कम्पनी लिमिटेड स्थापनाको दसौँ वर्ष पूरा गरी एघारौँ वर्षमा प्रवेश गरेको छ । सरकारी स्वामित्वको नेपालको पहिलो पुनर्बिमा कम्पनी हो । 

आकस्मिक बिमा कोषको उत्तराधिकारी संस्थाका रूपमा २०७१ कात्तिक २१ गते स्थापित कम्पनी एघारौँ वर्षमा प्रवेश गरेको अवसरमा बुधबार राजधानीमा आयोजित समारोहमा नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अग्रणी पुनर्बिमा कम्पनी भएको नाताले समग्र बिमा बजारमा प्रतिस्पर्धी र नेतृत्वदायी सेवा प्रवाह गर्न सुझाव दिनुभयो । कम्पनीको स्थापना भएपछि नेपालका जीवन तथा निर्जीवन बिमा कम्पनीले आफ्नै भूमिमा गुणस्तरीय पुनर्बिमा सेवा पाइरहेको उहाँले बताउनुभयो । पुनर्बिमाको माध्यमबाट ठुलो परिमाणमा विदेशी मुद्रा बाहिरिने कार्यलाई न्यूनीकरण गर्दै देशको पुँजी निर्माणमा समेत कम्पनीको ठुलो योगदान रहेको अध्यक्ष सिलवालले बताउनुभयो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले बिमकले विगतमा भोग्नु परेका सुरक्षणका समस्यालाई समाधान गर्ने उद्देश्य अनुरूप नेपाल सरकारले बिमा क्षेत्रलाई उच्च प्राथमिकता दिई कम्पनीको स्थापना भएको बताउनुभयो । पुनर्बिमा शुल्कको नाममा बाहिरिने प्रिमियम रकमलाई उल्लेख्य रूपमा कम गर्दै बाह्य देशहरूबाट पुनर्बिमा व्यवसाय ग्रहण गरी विदेशी मुद्रा आर्जन गर्नु, पुनर्बिमा व्यवसाय सञ्चालनमार्फत स्वदेशमा रोजगारी सिर्जना गर्नु र अर्थिक विकासमा योगदान पु¥याउनु रहेको उहाँको भनाइ छ ।

कम्पनीका अध्यक्ष देवराज ढुङ्गानाले नेपाल पुनर्बिमा कम्पनीले १० वर्षको अवधिमा नेपालका बिमा कम्पनीले स्वीकार गरेका सबै खालका जोखिम ग्रहण गरी बिमा कम्पनीको जोखिम वहन क्षमता वृद्धि गर्नुका साथै व्यवसायको विकास, विस्तार र सुदृढीकरणमा सहयोग पु¥याएको बताउनुभयो ।

कम्पनीको विश्वसनीयतालाई वृद्धि गरी वित्तीय अवस्था सबल बनाउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिमा बजारसँगको व्यावसायिक सम्बन्धलाई अझै सुदृढ गर्ने, समग्र बिमा उद्योगको प्रवर्धन र विस्तार गर्ने कार्यमा आवश्यक योगदान गर्ने, जोखिम व्यवस्थापन र हस्तान्तरणबाट जीवनलाई शान्त र आर्थिक क्षेत्रलाई सक्रिय बनाउँदै आर्थिक विकासमा योगदान गर्ने तथा लगानीकर्तालाई उचित प्रतिफल उपलब्ध गराउने उहाँले बताउनुभयो ।

कार्यक्रममा वार्षिकोत्सवका अवसरमा आयोजित अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने कम्पनीका  कर्मचारीलाई पुरस्कार प्रदान गरिएको थियो । कम्पनीको ११ औँ वार्षिकोत्सवका अवसरमा बुधबार राजधानीमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।