• २६ पुस २०८१, शुक्रबार

थाइल्यान्डमाथि नेपालको सानदार जित

blog

काठमाडौँ, कात्तिक २१ गते । यु–१९ महिला विश्वकप एसियाली छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डमाथि सानदार जित निकालेको छ ।

युएईको द सेभेन रङ्गशालामा बुधबार भएको खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हरायो । जितका लागि नेपालले दिएको एक सय तीन रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११.४ ओभरमा सबै विकेटको  क्षतिमा ३५ रनमा समेटिएको थियो । 

थाइल्यान्डका लागि अपिसरा सुवान्चोरथीले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले खोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा नेपालका लागि रचनाकुमारी चौधरीले चार विकेट लिनुभयो । कप्तान पूजा महतो र रिया शर्माले दुई दुई तथा करिस्मा गुरुङ र मनीषा कुमारी उपाध्यायले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय दुई रन बनाएको थियो । नेपालका लागि पूजा महतोले सर्वाधिक ३५ रन बनाउनुभयो । सिमाना केसीले अविजित १९ र सोनी पाख्रिनले १९ रन बनाउनुभयो । 

बलिङमा थाइल्यान्डका चारुकन साइमाले दुई तथा सुनिसा बोङ्कोडफोंगम्पाईले एक विकेट लिनुभयो । कात्तिक २९ गतेसम्म सञ्चालन हुने छनोट खेलमा नेपाल, घरेलु टोली युएई, कुवेत र थाइल्यान्ड सहभागिता रहेको छ ।

नेपालले दोस्रो खेल कात्तिक २२ गते कुवेतसॅंग, कात्तिक २४ गते युएईसॅंग, चौथो खेल कात्तिक २५ गते थाइल्यान्ड, पाँचौँ खेल कात्तिक २७ गते कुवेतसँग र अन्तिम खेल कात्तिक २८ गते युएईसॅंग खेल्नेछ । छनोट खेलको शीर्ष टोली अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपमा छनोट हुनेछ ।