• १२ पुस २०८१, शुक्रबार

तराई–पहाडलाई जोड्दै छठपर्व

blog

बर्दीबासस्थित कामेश्वरनाथ पोखरीलाई छठका लागि सौन्दर्यकरण गरिँदै । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दिबास, कात्तिक २१ गते ।
काठमाडौँमा फर्निचर व्यवसाय गर्दै आउनुभएका रितबहादुर श्रेष्ठ परिवारसहित मङ्गलबार पुर्ख्याैली थातथलो गौशाला ९ स्थित भरतपुर आइपुग्नु भएको छ ।

विगत ३५ वर्षदेखि छठको व्रत बस्दै आउनुभएका श्रेष्ठको तीन वर्षअघि नै भाकल पूरा भइसक्यो । फेरि पनि उहाँ हरेक वर्ष सपरिवार आफ्नो जन्मथलो भरतपुर पुगेर छठमा सहभागिता जनाउँदै आउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘‘साढे ३ दशक लामो भाकल त परार सालमै पूरा भयो । छठको दर्शन नगरी मन मान्दैन । अनि एक घरी केराको अर्घ्य दिएर छठी मैयाँको आराधना गर्न परिवारसहित गाउँ आउने गरेको छु ।’’

सोही ठाउँका ईश्वरी यादवलाई काठमाडौँ नयाँ बानेश्वरका सरिता कार्कीले छठमा लगाउन नयाँ कपडा पठाइदिनुभयो । काठमाडौँबाट गाउँ झरेका पहाडे मूलका छिमेकीहरुले निराहार बसेकी उहाँलाई छठको प्रसाद पकाउन र पूजा सरजाम मिलाउन खरनाको दिनदेखि नै सघाउने गरेका छन् ।

चिनियाँ सीमानिकट पर्ने सुदूर उत्तरवर्ती लामोसाँघुबाट छठ मनाउनैका लागि ५६ वर्षीया लक्ष्मी श्रेष्ठ पनि छोरासहित आफ्नै कारमा भरतपुर आउनुभएको छ ।

उहाँको भरतपुर माइतघर हो । तीन दाजुभाइकी एक्ली चेली लक्ष्मी व्यस्ताताका कारण यो भाइटीकामा माइत आउन सक्नुभएन । दाजुभाइ नै लामुसाँघु पुग्नुभयो । छठमा भने मन मानेन । समय मिलाएर माइत आएको उहाँको भनाइ छ ।

यसैगरी, भरतपुरमै विवाह भएकी दिदीले छठ गरेका कारण सिन्धुलीकी सानु श्रेष्ठ दिदीको घर पुग्नुभएको छ । वैदेशिक रोजगारीका लागि खाडी मुलुक र भारतीय सहर पुगेकाहरु पनि छठ मनाउनैका लागि अहिले गाउँ फर्केकाले सुनसान गाउँमा चहलपहल देखिएको छ ।

छठ पर्वले भूगोल र विभेद मेटिएको छ । सहयोग र सद्भावले समाज र परिवारलाई जोड्दै लगेको छ ।

वैमनस्य तोडेर समाजमा सद्भाव कायम गर्दै लगेको छठ अब तराईको मात्र नभएर मुलुककै पर्व हुँदै गएको उदाहरण भएको रतौली युवा क्लबका अध्यक्ष वैधनाथ चौधरीको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘लोक आस्थाको महापर्व छठले भूगोल, भाषा, जाति र सम्प्रदायबिचको खाडल पुर्दै तराईदेखि पहाड र हिमाली भेगमा समेत अपनत्व बढाउँदै लगेको सन्देश पनि हो यो ।’’

मध्य तराईमा अति महत्त्व साथ मनाइने लोक आस्थाको यो महापर्वमा सबैको सहभागिता हुने हुँदा यसले मधेश प्रदेशमा महापर्वको रुप लिँदै गएको छ । छठका व्रतालुले  मङ्गलबार ‘नहाय खाय’ विधि पूरा गरी बुधबार खरना अनुष्ठानको तयारी गरिरहेका छन् ।