• २१ मंसिर २०८१, शुक्रबार

मेनुकाको स्वरमा ‘तेजस्वी अप्सरा’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २१ गते । गायिका मेनुका पौडेलको स्वरमा रहेको गीत ‘तेजस्वी अप्सरा’ सार्वजनिक भएको छ । गीतमा मनोज खड्काको शब्द, कल्याण सिंहको सङ्गीत, दीक्षित पौडेलको एरेन्ज तथा लुमन स्थापितको रेकर्डिङ छ । गीतको भिडियो डिजाइन र सम्पादन सञ्जीतकुमार घिसिङले गर्नुभएको छ ।

गीतकार खड्काले दिवङ्गत आमा अप्सराको वार्षिकीको पूर्वसन्ध्यामा आमाकै सम्झनामा गीत तयार गर्नुभएको हो । भिडियोमा गायिका मेनुका, गीतकार मनोज, सङ्गीतकार कल्याणलाई पनि देख्न सकिन्छ । 

नेपाल साङ्गीतिक सङ्घ र गीतकार सङ्घ नेपालले राजधानीमा आयोजना गरेको कार्यक्रममा गीतकार तथा साहित्यकार कालीप्रसाद रिजालले गीत सार्वजनिक गर्नुभयो । गीतकार रिजालले खड्काको गीति लेखनको प्रशंसा गर्दै थप सिर्जनाको अपेक्षा गरेको बताउनुभयो । अर्का गीतकार एसपी कोइरालाले यो गीतले साहित्य, समाज र संस्कृतिलाई जोडेको उल्लेख गर्नुभयो । 

गीतकार खड्काले आत्मीय व्यक्ति गुमाउँदाको पीडाको भावलाई समेटेर ‘तेजस्वी अप्सरा’ लेखिएको बताउनुभयो । “यो गीत मेरा लागि शब्द र मेलोडी मात्र भन्दा पनि पिस अफ हार्ट हो । आमा गुमाउँदाको पीडालाई गीतमा उतार्न प्रयास गरेको छु । आफ्ना आत्मीयजन गुमाएका श्रोता/दर्शकले यो गीतको थप गहिराइ महसुस गर्न सक्नुहुन्छ,” उहाँले भन्नुभयो । उहाँले आफूले गीत लेख्दा पीडा र ऊर्जालाई सन्तुलनमा राख्ने कोसिस गरेको बताउनुभयो ।