• १२ पुस २०८१, शुक्रबार

तीन दिनपछि हुम्लामा हवाई उडान सुरु

blog

फाइल तस्बिर ।

हुम्ला, कात्तिक १९ गते । हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरु भएको छ । मौसम सफा भए पनि लक्ष्मीपूजाको दिनदेखि हवाई उडान हुन सकेको थिएन । 

नेपालगञ्जदेखि उडान भर्दै आएका निजी र सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको उडान तालिका नभएका कारण सोमबार मात्रै उडान सञ्चालन गरेको सिमकोट विमानस्थल कार्यालयले जानकारी दिएको छ । सोमबार नेपालगञ्जदेखि सिमकोटका लागि तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेका हुन् । 

आज नेपालगञ्जदेखि तारा र नेपाल एयरलाइन्सले एक–एक पटक उडान भरेको विमानस्थलले जानकारी दिएको छ । दुवै एयरलाइन्सले नेपालगञ्जदेखि यात्रुसँगै दैनिक उपभोग्य सामग्री र अन्य सामान ढुवानी गरेका थिए । अन्य सीता र समिट एयरले तीन दिनदेखि उडान भर्न नसकेको छैनन् । नेपालगञ्जदेखि उडान भर्दै आएका जहाजले आफ्नो तालिकाअनुसार हुम्लामा उडान भर्दै आएका छन् । मङ्गलबारका लागि नेपालगञ्जदेखि नेपाल एयरलाइन्सले आफ्नो उडान तालिकाअनुसार उडान भर्ने भएको छ ।

नेपालीको महान् पर्व दसैँ, तिहार सकिएसँगै सिमकोटबाट जिल्लाबाहिर जाने यात्रुको चाप विस्तारै बढ्दै गएको छ । यो समयमा नेपालगञ्ज र सुर्खेतबाट हुम्ला आउने यात्रुको चाप त्यति धेरै नभए पनि हुम्लादेखि जिल्ला बाहिर जाने यात्रुको चाप भने उत्तिकै रहेको बताइएको छ । सीता एयर र समिट एयरले भने आज उडान नभरेको सिमकोट विमानस्थल कार्यालयले जनाएको छ । रासस