• २३ मंसिर २०८१, आइतबार

प्रहरी महानिरीक्षक कुँवर संयुक्त राज्य बेलायत प्रस्थान

blog

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोलको ९२ औँ महासभामा सहभागी हुन संयुक्त राज्य बेलायत प्रस्थान गर्नुहुँदै । तस्बिर: नेपाल प्रहरी

काठमाडौँ, कात्तिक १८ गते । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोलको ९२ औँ महासभामा सहभागी हुन संयुक्त राज्य बेलायत प्रस्थान गर्नुभएको छ । राष्ट्रिय केन्द्रीय ब्युरो इन्टरपोल महासचिवालयको आयोजनामा संयुक्त राज्य बेलायतको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म सञ्चालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर आइतबार बिहान  बेलायततर्फ प्रस्थान गर्नुभएको हो ।

राष्ट्रिय केन्द्रीय ब्युरो नेपालका प्रमुख समेत रहनुभएका प्रहरी महानिरीक्षक कुँवरसँग महासभामा सहभागी हुन सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेल र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

उहाँहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामनासहित बिदाइ गर्नुभयो ।

इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रहरूका प्रतिनिधिहरू सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्त्वपूर्ण नीतिगत विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि मतदानहरूमा भाग लिनेछ । उक्त महासभामा इन्टरपोल र विश्व स्वास्थ्य सङ्गठनबिचको सहयोग सम्झौता, आतङ्कवाद रणनीति र परिचालन, इन्टरपोलको विश्लेषणात्मक क्षमताहरूलाई सुदृढ गर्न एकीकृत रणनीति, बाल यौन दुर्व्यवहार सामग्री प्रकाशित गर्ने वेबसाइटहरूको सूची तथा निजी संस्थाहरू बिचको सहकार्य, डिजिटल प्रमाणमा कानुनी पहुँच, इन्टरपोलको संविधान संशोधनको लागि विभिन्न देशहरूबाट पेस गरिएका प्रतिवेदनहरू, इन्टरपोलको भवन विस्तार तथा पुनर्निर्माण कार्यक्रम जस्ता विषयहरूमा छलफल तथा महासभामा कार्यकारी समितिको रिक्त पदहरूमा निर्वाचन समेत हुने कार्यक्रम रहेको छ ।


साथै प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरको नेतृत्वमा सहभागी हुने प्रतिनिधि मण्डलद्वारा मित्रराष्ट्रहरू चीन, दक्षिण कोरिया, अमेरिका, कतार र युएईका प्रतिनिधाहरूसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयमा थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा छलफल तथा द्विपक्षीय बैठक हुने कार्यक्रम रहेको छ ।

प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।