जनार्जन खत्री
सर्लाही, कात्तिक १७ गते । सर्लाहीको हरिवन नगरपालिका–२, लालभित्तीमा आयोजित तेस्रो वडाकप फुटबल प्रतियोगिताको उपाधि खोरगाउँ युवा क्लबले जितेको छ ।
शुक्रबार साँझ सम्पन्न फाइनल खेलमा श्रीनगर युवा क्लब ईश्वरपुरलाई १–० गोलले पराजित गर्दै हरिवन २ कै खोरगाउँ युवा क्लबले प्रतियोगिताको प्रथम उपाधि उचालेको हो । विजेता खोरगाउँले नगद ३० हजार रुपियाँ नगदसहित प्रतियोगिताको ट्रफी हात पारेको छ ।
उपविजेता श्रीनगरले भने १५ हजार रुपियाँमा चित्त बुझाएको छ । विजेता तथा उपविजेता र विधागतरुपमा उत्कृष्ट खेलाडीलाई मधेश प्रदेशसभा सदस्य जवाहारलाल कुशवाहा, हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलान, हरिवन २ का वडाध्यक्ष अर्जुन योन्जनलगायत भएर पुरस्कार वितरण गर्नुभएको छ ।
लालभित्ती युवा क्लबको आयोजना तथा हरिवन २ को वडा कार्यालयको प्रायोजनमा वडाकप फुटबल प्रतियोगिता सम्पन्न भएको हो । आफू वडाध्यक्षमा निर्वाचित भएर आएदेखि प्रत्येक वर्ष यसैगरी वडाकप फुटबल प्रतियोगिता आयोजना गर्दै आइरहेको हरिवन २ का वडाध्यक्ष योन्जनले बताउनुभयो ।