अमृतप्रसाद पौडेल
म्याग्दी, कात्तिक १७ गते । हिमालपारिको जिल्ला मुस्ताङमा अहिले प्रायः सबैले स्याउ टिपेर रुखहरु खाली बनाएका छन् । स्याउको बोटमा पात झर्न थालेका छन् भने टाढासम्म हेर्दा बोटहरु उराठजस्तै देखिन थालेको छ । त्यही स्याउको बोटमुनि अहिले किसान व्यस्त छन् ।
स्याउका बोटबाट स्याउका दाना हटिसकेका छन् भने अन्नबाली फापर पाकेर काट्नका लागि कृषकहरु व्यस्त छन् । जिल्लाको मार्फालगायतको अन्य क्षेत्रको स्याउ बगानभित्र पाकेको फापर कतिपयले काटिसकेका छन् भने कतिले काट्दै रहेको घरपझोङ गाउँपालिका मार्फाका अगुवा कृषक दीपक लालचनले बताउनुभयो ।
उहाँका अनुसार स्याउ टिपेर बजार पठाइ सकेपछि अब केही सहज समयमा फापर भित्र्याउनका लागि उत्कृष्ट र उत्तम समय हो । मुस्ताङको मुख्य अन्नबालीका रुपमा लिइने उवा र फापर हुन् र अहिले त्यही मुख्य अन्न बालीका रुपमा रहेको फापर भित्र्याउने समय भएकाले स्याउ छाडेर फापरतिर कृषकको ध्यान मोडिएको छ ।
स्याउ टिपेर सकिएको र बजार पनि पठाइ सकिएकाले पनि कृषकको ध्यान अन्नबाली भित्र्याउनतिर लागेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयले बताउनुभयो ।
उहाँका अनुसार शीतोष्ण हावापानी भएको मुस्ताङमा अधिकांश फलफूलका बोटहरु हुने त्यही बोटको प्रयोग मात्र नभएर यथार्थमै उत्पादन गरिएको छ मार्फालगायतको मुस्ताङ क्षेत्रमा भन्ने देखिने पनि अहिलेको फापरको उत्पादन हो ।
अब स्याउ टिपिसकिएको उक्त स्थानहरुमा समयसापेक्ष रुपमा स्याउ तथा अन्य फलफूलको बगानभित्र अन्तरबालीका रुपमा लसुन, प्याज, रायो मार्फा तथा बन्दाजस्ता तरकारी बाली पनि लगाउने गरिन्छ ।
नेपालको अधिकांश भागमा एउटा बाली नै एक पटकमा लगाउने गरेको भए पनि अन्तरबाली लगाउँदा राम्रो उत्पदान हुन सक्ने सम्भावनालाई पनि मुस्ताङको फलफूलको बोटमुनि प्रयोग गरेर अन्तरबाली उत्पादन प्रयोगात्मक मात्र नभएर व्यावहारिक रुपमै राम्रो उत्पादन भएको देखाएको छ ।
हिमालपारीको जिल्ला मुस्ताङको मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रले अन्तरवाली व्यवस्थापन गरेर राम्रो उत्पादन गर्न सक्ने उदाहरणकै रुपमा आफ्नो फर्ममा रहेको फलफूल बगानमा तरकारी खेती गरेरेर अन्यत्रबाट कृषकलाई तालिममै बोलाएर पनि प्रयोगात्मक रुपमा देखाउँदै आउने गरेको छ ।
शीतोष्ण फलफूल बालीहरु स्याउ, ओखर, आरु, आरुबखडा, खुर्पानी, कागजी बदाम, नास्पातीको उत्पादन राम्रो हुने मुस्ताङमा अन्तरबालीका रुपमा खेती गर्दा दोहोरो फाइदा लिन सकिने भएकाले पनि त्यसको प्रयोग शीतोष्ण बागवानी विकास केन्द्रले थालेको केन्द्रका दिनेश सुवेदीले बताउनुभयो ।
अधिकांश क्षेत्रमा फलफूलको बगानमा अन्यबाली लगाउने गरेको पाइँदैन, तर यहाँ भने हामीले हरेक बालीसँगै अन्य बाली पनि लगाएर अन्तरबाली अभ्यास गरेका छौं–उहाँले भन्नुभयो ।
मुस्ताङमा फलफूलका बगैचाभित्र कोशेबालीहरुमा सिमी, केराउ, भटमासजस्ता तरकारी लगाउने गरिन्छ । त्यसैगरी आलु, प्याज, लसुन, बन्दा, काउली, ब्रोकाउली, रायो साग, कुरिलो, गोलभेंडा, भेन्टाजस्ता तरकारीबालीहरु अन्तरबालीको रुपमा लगाइने अनुभव छ । फापर तथा उवा पनि अधिकांश क्षेत्रमा अन्तरबालीका रुपमा नै उत्पादन हुने गरेको छ ।
फलफूल कृषकहरुले अन्तरबाली लगाउँदा बालीको छनाेट गर्नु महत्वपूर्ण कार्य हुने गर्दछ । सकेसम्म कोशेबालीलाई अन्तरबालीको रुपमा लगाउन सकेमा उत्पादन निकै राम्रो हुने गर्दछ । अन्तरबाली लगाउँदा मुख्य बालीसँग प्रतिस्पर्धा गर्ने खालका नलगाएर मुख्य बालीलाई पनि राम्रो फाइदा पुग्नेखालको लगाउनु पर्ने कृषकहरुको भनाइ छ ।
अन्तरबाली लगाउँदा जग्गाको उच्चतम उपयोग गर्न सकिने कृषक लालचनको भनाइ छ । अन्तरवाली लगाउँदा मलखाद, सिँचाइको उच्चतम उपयोग हुने भएकाले दुवै बालीको उत्पादन उत्पादकत्व बढाउन सकिन्छ । बगैंचामा प्रयोग भएको मलको धेरै उपभोग गर्ने मकै कोदो तथा लहरे बाली र गहिरो जरा जाने बाली लगाउँदा मुख्य बालीलाई नै असर गर्ने भएकाले त्यस्तो लगाउन नहुने शीतोष्ण बागवानी विकास केन्द्रका प्रमुख आत्रेयले भन्नुभयो ।