• १० मंसिर २०८१, सोमबार

फूल व्यवसायी खुसी

blog

सल्यान शारदा नगरपालिका १ श्रीनगरमा कुमार हमालले ५ रोपनीमा गरेको फूल व्यवसाय । तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा

सल्यान, कात्तिक १७ गते । गाउँघर सहर जताततै तिहारको रमाइलो छाएको छ । तिहारलाई फूलैफूलको पर्व भनेर चिनिन्छ ।

सयपत्री, गोदावरी र मखमली जस्ता फूल तिहारमा बढी प्रयोगमा आउँछन् । देउसी भैलो गीतमा पनि फूलको चर्चा धेरै हुन्छ । यहाँका स्थानीय तहहरूले प्लास्टिकका माला आयातमा प्रतिबन्ध लगाएपछि फूलको माग बढेको छ । 

योसँगै किसानको व्यस्तता पनि बढेको छ । राप्तीराजमार्ग रहेको सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर बजारमा विगतका वर्षहरूमा तिहारका बेला छ्याप–छ्याप्ती पाइने प्लास्टिकका माला अहिले देखिनै छाडेका छन् । 

स्थानीय सरकारले गत वर्षदेखि प्लास्टिकका फूल, गुच्छा र मालामा प्रतिबन्ध लगाएपछि सयपत्री फूलको माग बढेको छ । तिहार र छठजस्ता चाडपर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्री प्रयोगमा रोक लगाइएपछि पुष्प व्यवसायी उत्साहित छन् । फूल खेती गरेर आत्मनिर्भर बन्न चाहनेहरूमा पनि हौसला मिलेको छ ।

शारदा नगरपालिका-१ श्रीनगर नजिकै कुमार हमालले पाँच रोपनी जग्गामा सयपत्री र मखमली ढकमक्क फुलाउनुभएको छ । ३ महिनाअघि किसानले रोपेको फूल अहिले ढकमक्क फूलेको छ । किसान माला बनाउन र प्याकेजिङ गर्न व्यस्त छन् ।

यो वर्ष पाँच लाख रुपैयाँको फुल बिक्री गर्ने लक्ष्य राखेका कुमार हमालले उत्पादित फूल काठमाडौँ, बुटवललगायतका सहरसम्म पठाएको बताउनुभयो ।  उहाँका अनुसार फुल प्रति किलो ३सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । 

गाउँघरमै व्यावसायिक फुल उत्पादन भएपछि फुलको व्यवस्थापन गर्न पनि सजिलो भएको स्थानीयको भनाइछ । शारदा नगरपालिका–२, खलङ्गाकी प्रभा डाँगीले आवश्यकता अनुसार फूल बजारमा बिक्रीका लागि राखिएको बताउनुभयो । उहाँका अनुसार अहिले गाउँघरमा सयपत्री र मखमली फुल पाइएको छ ।

शारदा नगरपालिका, त्रिवेणी गाउँपालिकालगायतका अन्य स्थानीय तहले सार्वजनिक सूचना नै जारी गरेर प्लास्टिकको फूल किनबेचमा प्रतिबन्ध लगाएका छन् । किसानले उत्पादन गरेको फूलले बजार नपाउने र प्लास्टिकका फूलमालाले प्रदूषणसमेत बढाउने भएकाले स्थानीय तहहरूले बिक्री वितरणमा रोक लगाएका हुन् । शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले स्थानीयस्तरमा उत्पादनलाई प्रवर्द्धन गर्न र स्थानीयलाई घरमै रोजगारीको सिर्जना गर्न नगरपालिकाले प्लाष्टिजन्य फूलमा गत वर्षदेखि नै रोक लगाउँदै आएको बताउनुभयो ।