• २७ मंसिर २०८१, बिहिबार

हङकङ सिक्सेस : नेपालको लगातार दोस्रो जित

इंग्ल्याण्डलाई ६ विकेटले हराएको नेपालसँग अस्ट्रेलिया स्तब्ध

blog

अस्ट्रेलियाविरुद्धको जितपछि नेपालको खुशी । तस्बिरः क्यान

काठमाडौँ, कात्तिक १७ गते । हङकङ सिक्सेसमा नेपालले लगातार दोस्रो जित निकालेको छ । पूल ‘बी’को अन्तिम खेलमा नेपालले शनिबार बिहान अस्ट्रेलियामाथि ११ रनको जित निकालेको हो । इंग्ल्याण्डलाई पहिलो खेलमा ६ विकेटले हराएको नेपाल यो जितसँगै पूल ‘बी’को विजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको छ ।

टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले अस्ट्रेलियालाई ११२ रनको चुनौती दिएको थियो । ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया सय रनमा समेटिएको हो ।

अस्ट्रेलियाका लागि ज्याक उडले अर्धशतक पूरा गर्नुभयो । ६ छक्का र चार चौका प्रहार गर्दै उहाँले ५५ रन जोड्नुभएको हो ।

नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिनुभयो । दुई ओभर बलिङ गर्नुभएका जिसीले २४ रन खर्चिएर तीन विकेट लिनुभएको हो । लोकेश बम र विवेक यादवले एकएक विकेट हात पार्नुभयो ।

सुरुमा ब्याटिङ गरेको नेपालका लागि सन्दीप जोराले अर्धशतक पुरा गर्नुभएको थियो । उहाँले १६ बलमा पाँच चौका र चार छक्का प्रहार गर्दै ५१ रन बनाउनुभएको हो । कप्तान सन्दीपले अघिल्लो खेलमा इंग्ल्याण्डविरुद्ध १२ बलमै अर्धशतक बनाउनुभएको थियो ।

लोकेश बमले १३ बलमा तीन चौका र तीन छक्काको मद्तमा ३३ रन बनाउनुभयो भने विवेक यादव र रशिद खानले समान १२–१२ रन जोड्नुभयो ।

अस्ट्रेलियाका ज्याक उडले दुई विकेट हात पार्नुभयो । यो जितसँगै नेपाल विजेता र अस्ट्रेलिया उपविजेता बन्दै अर्को चरण प्रवेश गरेका छन् । पहिलो खेलमा नेपालले इंग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो ।