• १० मंसिर २०८१, सोमबार

फूल खेतीबाट मनग्य आम्दानी गर्दै महिला

blog

आँबुखैरेनी–१ याञ्चोकका माला उन्न व्यस्त महिला । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ कात्तिक १७ गते ।
मोबाइलमा टिकटक, फेसबुक र युटुव चलाएर समय गुर्जाने तनहुँको आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकका महिलाहरु फूल खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । कामविहीन हुँदा मोबाइलमा भुल्ने महिलालाई हाल फूल टिप्ने, माला उनेर बिक्री गर्न भ्याइनभ्याई भएको छ  ।

फूल बिक्री गरी चार लाखभन्दा बढि आम्दानी गर्न सफल भएका छन् । आँबुखैरेनी गाउँपालिकाले महिलाको आयआर्जन वृद्धिका लागि फूल खेती गर्न प्रोत्साहन गरेपछि दिनचर्या परिवर्तन भएको हो । सामूहिक रुपमा व्यवसायिक रुपमा फूल खेती गरी खेर गएको समय र बाँझो जमिनको सदुपयोग भएको छ ।

याञ्चोकमा ४० रोपनी क्षेत्रफलमा ४० हजार सयपत्रीका बोटमा ढकमक्क फूल फूलेका छन् । यहाँ फूलेका फूल कतार समेत निर्यात भएको छ । बिक्री नभएको फूललाई धुप बनाएर बिक्री गर्ने गरेका छन् ।

गाउँपालिकाले फूल खेतीका लागि प्रोत्साहन गरेपछि यान्चोक लघुउद्यम महिला समुहद्वारा व्यवसायिक फूल खेती गरिएको हो । फूल प्रत्येक वर्ष भारतबाट आयात हुँदै आएकोमा गत वर्षदेखि उत्पादन हुन थालेपछि आत्मनिर्भर हुनुका साथै कतार निर्यात गर्न सफल भएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । चुमानले भन्नुभयो, ‘‘फूल निर्यात गरी महिलाको आयआर्जनमा वृद्धि गर्ने लक्ष्य राखेका छौं ।’’ सयपत्री फूल खेतीबाट उत्साहित भएकाले यसवर्ष पनि निरन्तरता दिइएको कृषि शाखाका प्रमुख सन्तोष केसीले बताउनुभयो । केसीका अनुसार ८५ प्रतिशत अनुदानमा सयपत्री फूलका बिरुवा उपलब्ध गराएको थियो ।

गतवर्ष तिहारमा प्रतिकिलो पाँच सयमा फूल बिक्री भएको र ७० जना आबद्ध भएको समुहका अध्यक्ष सुन्तली गुरुङले बताउनुभयो । टिकटक, फेसबुक चलाएर समय खेर फालेका महिलालाई स्वरोजगार बनाउने उद्देश्यसहित फूलखेती थालिएको उहाँको भनाइ छ । गत वर्ष दुई लाखको बिक्री गरिएकोमा यस वर्ष चार लाखको बिक्री भइसकेको गुरुङ बताउनुहुन्छ । यस वर्ष आठ लाख रुपियाँ आम्दानी गर्ने लक्ष्य राखिएको समूहले जनाएको छ ।

महिलाको आयवृद्धिका लागि गाउँपालिकाले गत वर्षदेखि अनुदानको कार्यक्रम अगाडि बढाएको थियो । घरायसी काममा व्यस्त रहँदै आएका महिलालाई आयआर्जनमा जोड्न यो कार्यक्रम ल्याइएको अध्यक्ष चुमान बताउनुहुन्छ । सयपत्री फूल खेतीलाई प्राथमिकतामा राखेर गाउँपालिकाअन्तर्गतका सबै कार्यक्रममा खादा प्रयोगको सट्टा सयपत्रीको मालालाई प्राथमिकता दिने निर्णय गरिएको अध्यक्ष चुमानले जानकारी दिनुभयो । फूल कृषकलाई प्रोत्साहन गर्न प्लाष्टिकका फूल तथा माला बिक्री गर्न प्रतिबन्ध लगाएको छ ।