• १५ कात्तिक २०८१, बिहिबार

तिहार उज्यालो र प्रगतिपथको पर्व: प्रदेश प्रमुख देवकोटा

blog

बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा । तस्बिर : अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, कात्तिक १५ गते ।
 बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले तिहार उज्यालो र प्रगतिपथको पर्व भएको बताउनुभएको छ । नेपालीहरूको प्रमुख पर्वहरू नेपाल संवत् ११४५, तिहार, तथा छठ पर्व, २०८१ को अवसरमा बिहीबार प्रदेशवासीमा सुस्वास्थ्य, सुख, शान्ति र दीर्घायुको शुभकामना व्यक्त गर्नुहुँदै प्रकाशको पर्व तिहारले पारिवारिक मेलमिलाप र ममता झल्काउने उहाँले बताउनुभयो ।

प्रदेश प्रमुखले तिहार पर्व धार्मिक, सांस्कृतिक, प्राकृतिक सबै पक्षबाट महत्त्व बोकेको पर्व भएको बताउँदै काग, कुकुर, गाई, गोरु, पर्वत, लक्ष्मी र दाजुभाइको पूजा आराधना गरिनु मानव र प्रकृतिको मेललाई उजागर गर्ने बताउनुभयो ।

उहाँले छठ पर्वको पनि शुभकामना दिँदै व्रतालुहरू नदी, ताल किनारमा गई अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर जाग्राम बसी अर्को दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा आराधना गरी पर्व हाँसीखुसीका साथ मनाइने उल्लेख गर्नुभएको छ ।

“हाम्रा चाडपर्वहरू हाम्रा अमूल्य निधि हुन्, हामी सभ्य र सहिष्णु समाजमा आपसी मेलमिलाप र भाइचाराको भावनाले ओतप्रोत भएर चाडपर्वहरू मनाउने गर्दछौँ ।,”प्रदेश प्रमुखले भन्नुभयो । उहाँले चाडपर्वहरूले सुख, शान्ति र वैभवको पथमा अगाडि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने अपेक्षा राख्दै गक्ष्य अनुसार पर्वहरू मनाउन आग्रह गर्नुभएको छ ।