• २२ चैत २०८२, आइतबार

किसानसँग आलु किन्न सम्झौता

blog

तनहुँ समाचारदाता

तनहुँ, कात्तिक १५ गते । तनहुँमा आलु उत्पादन गर्ने किसानलाई बजारीकरणमा सहज भएको छ । किसानले उत्पादन गरेको आलु सिधै कम्पनीले खरिद गरेर लैजाने सम्झौता भएकाले सहज भएको हो  । 

उत्पादन गर्ने किसान र आलुका परिकार बनाउने कम्पनीबिच आलु खरिद गर्न द्विपक्षीय सम्झौता गरिएको छ । समुदायस्तरमा प्रशोधनयोग्य आलु प्रवर्धन कार्यक्रम अन्तर्गत किसान र कम्पनीबिच सम्झौता गरिएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । 

आलु उत्पादन गर्ने कृषक समूह, सहकारी, कृषि ज्ञान केन्द्र तनहुँ, स्थानीय पालिका र फस्ट च्वाइस फुड्स प्रालि रुपन्देहीबिच उत्पादन भएको आलु खरिद गर्ने सम्झौता भएको केन्द्रका सूचना अधिकारी किरण परियारले जानकारी दिनुभयो । तनहुँको घिरिङ गाउँपालिकाको गजरकोट, पुट्टार क्षेत्रमा उर्वरा कृषि समूहले लगाएको एक सय रोपनी आलु खरिदका लागि सम्झौता गरिएको हो ।

परियारले बिक्री सुनिश्चित भएकाले किसान उत्साहित भएर आलु लगाउन व्यस्त भएको दाबी गर्नुभयो । परियारका अनुसार आलु उत्पादन गर्ने समूह सहकारीलाई निःशुल्क विषादी, ढुवानी, तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराइएको छ ।

कार्यक्रम अन्तर्गत ७५ देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरिएको छ । आलु लगाउने किसानलाई बिउमा ७५ प्रतिशत अनुदान रकम प्रदान गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट प्रमाणित भएका खुमल उज्ज्वल, खुमल विकास, जनकदेव जातको आलु लगाइएको छ ।

उत्पादन भएको आलु बजारमा चलनचल्तीको दरबमोजिम कम्पनीले खरिद गर्ने छ । नेपालमा उत्पादन भएको आलुभन्दा भारतबाट आयात गरेको आलु सस्तो पर्ने भए पनि कम्पनी नेपाली किसानलाई प्रोत्साहनका लागि खरिद सम्झौता गरेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपालप्रसाद लामिछानेले बताउनुभयो ।

किसानले उत्पादन गरेको परिमाणका आधारमा कृषि ज्ञान केन्द्रले प्रतिकेजी दुई रुपियाँ प्रोत्साहन रकम अनुदान उपलब्ध गराउने लामिछानेले जानकारी दिनुभयो आलु लगाउनुपूर्व नै बजारको सुनिश्चितता भएपछि अहिले समूह सहकारीहरू आलु खेतीको विस्तारमा लागेको लामिछाने बताउनुहुन्छ । खुमल उज्ज्वल, खुमल विकास, खुमल उपहार र जनकदेव जातका उत्पादित आलु रुपन्देहीको शुद्धोदन गाउँपालिकाको मैनियामा रहेको फस्ट च्वाइस फुड्स प्रालिले खरिद गर्ने सम्झौतामा उल्लेख छ । गत वर्षदेखि कम्पनीले आलुबाट फ्रेन्च फ्राई, चिप्स उत्पादन गरिरहेको छ । त्यसका लागि खुमल जातको आलु उपयुक्त हुने लामिछानेले जानकारी दिनुभयो ।