• १५ कात्तिक २०८१, बिहिबार

शिक्षण अस्पताल निर्माण प्रक्रिया अघि बढ्यो

blog

शिक्षण अस्पतालको प्रस्तावित स्थान दैलेखको आठबिस नगरपालिकाको केन्द्र राकम कर्णाली । तस्बिर : रजनी योगी

रजनी योगी 

सुर्खेत, कात्तिक १४ गते । शिक्षण अस्पताल निर्माणको प्रक्रिया अघि बढेको छ । दैलेखको आठबिस नगरपालिकाको केन्द्र राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माण गर्न लागिएको हो । 

पाँच वर्षअघि आठबिस नगरपालिका र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबिच भएको सम्झौता अनुसार १०० शय्याको ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढाइएको थियो । तर निर्माणको काम भने अघि बढ्न सकेको थिएन । सरकारले आवश्यक बजेट विनियोजन नगर्दा अस्पताल निर्माणको काम अघि नबढेको हो । चालु आर्थिक वर्षबाट अस्पताल निर्माणको काम थालिने भएको छ ।

चालु आर्थिक वर्ष २०८१-०८२ मा सङ्घीय सरकारले अस्पताल निर्माणका लागि बजेट विनियोजन गरेसँगै अस्पताल निर्माणको काम अघि बढाउन लागिएको हो । सरकारले चालु आर्थिक वर्षमा अस्पताल निर्माणका लागि दुई करोड बजेट विनियोजन गरेको छ । यो वर्षदेखि अस्पताल निर्माणको काम सुरु गरिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

सरकारसँग थप बजेट माग गरेर अस्पताल निर्माणको काम सुरु गर्न लागिएको प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावलले बताउनुभयो । उहाँका अनुसार केही महिना अघि मात्र नयाँ डिपीआर निर्माण गरिएको छ । डिपीआर अनुसार १ अर्ब ७२ करोड लागत अनुमान छ । सङ्घीय सरकारको नीति तथा कार्यक्रममा समेटिएको अस्पताल निर्माणको योजना यो वर्षदेखि कार्यान्वयनमा जान लागेको हो । डिपीआर संशोधन गरेर तयार पारिएकाले लागत अनुमान पनि बढेको छ ।

यसअघि बनेको डिपीआर अस्पतालको भवन निर्माणका लागि मात्र तयार पारिएको थियो । उक्त डिपीआरमा भवन निर्माणका लागि ९० करोडको लागत अनुमान छ । नयाँ निर्माण गरिएको डिपीआरमा अस्पतालका लागि निर्माण गरिने सम्पूर्ण संरचनाको लागत अनुमान तयार पारिएको छ ।

अस्पताल निर्माणका लागि गतवर्ष सरकारले बजेट नै विनियोजन गरेको थिएन । जसले गर्दा निर्माणको काम सुरु हुन सकेको थिएन । यो वर्ष सरकारले बजेट विनियोजन गरेसँगै निर्माणको काम थालिने भएको छ । अस्पताल निर्माणका लागि सरकारले न्यून मात्र बजेट विनियोजन गरेकाले थप बजेट माग गरिएको प्रतिष्ठानका उपकुलपति डा. रावलले जानकारी दिनुभयो । 

१५ शय्याको अस्पतालबाट सेवा सुरु गरिने

शिक्षण अस्पतालको सेवा १५ शय्याको अस्पतालबाट सुरु गरिने भएको छ । १०० शय्याको अस्पतालका संरचना निर्माण नहुनञ्जेलसम्म १५ शय्याको अस्पतालबाट सेवा सुरु गरिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । अहिले राकम कर्णाली स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर १५ शय्याको अस्पताल बनाइँदै छ । अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । उक्त अस्पताललाई शिक्षण अस्पतालको अङ्गका रूपमा सञ्चालन गर्न लागिएको आठबिस नगरपालिकाले जनाएको छ ।

१५ शय्याको अस्पताललाई शिक्षण अस्पतालको अङ्गका रूपबाट सेवा थाल्ने विषयमा छलफल भइरहेको नगरप्रमुख तर्कबहादुर बडूवालले बताउनुभयो । उक्त आधारभूत अस्पताल निर्माणको काम २०७८ मङ्सिरमा सुरु भएको हो । हाल भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दश करोड ७८ लाख बजेटमा निर्माण थालिएको हो । नागरिकलाई चिकित्सकसहितको आधारभूत स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आधारभूत अस्पतालको योजना अघि सारेको थियो । उक्त लक्ष्य अनुरूप १५ शय्याको अस्पताल निर्माणको काम सुरु भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र आठबिस नगरपालिकाले नागरिकलाई स्तरीय सेवा प्रदान गर्नका लागि १५ शय्याबाट शिक्षण अस्पतालको सेवा सुरु गर्न लागेका हुन् । एक सय शय्याका अन्य संरचना निर्माण नहुँदासम्म १५ शय्याबाट सेवा सुरु गर्ने गरी प्रक्रिया अघि बढाइएको प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावलले बताउनुभयो । उहाँका अनुसार प्रतिष्ठानबाट जनशक्ति परिचालन गरेर सेवा दिन लागिएको छ ।