• ११ पुस २०८१, बिहिबार

चिउरीको बिजौला पेलेर तेलको जोहो

blog

घोराही उपमहानगरपालिका–१३ मौलाकोटमा चिउरीको तेल पेल्दै स्थानीय । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, कात्तिक १४ गते । वन जङ्गलमा पाइने चिउरीको फल टिपेर दाङको घोराही उपमहानगरपालिका–१३ मौलाकोटका स्थानीयले तेलको जोहो गर्ने गरेका छन् । मौलाकोट घोराही उपमहानगरपालिका भएपनि पहाडी क्षेत्र भएको र सिचाईका लागि सुविधा छैन । 

सिँचाइको सुविधा नहुँदा तोरी खेती नहुने भएकाले स्थानीयलाई तेलका लागि चिउरीकै भर पर्नुपर्ने बाध्यता भएकोे मौलाकोट निवासी बिरबहादुर थापा बताउनुहुन्छ । पहाडी क्षेत्र भएकाले यहाँ तोरी हुँदैन, चिउरीको फल टिप्न सकिएन भने साँझ–बिहान खाना बनाउँदा तरकारीमा राख्ने तेल बजारबाट किन्नुपर्ने बाध्यता भएको भन्दै स्थानीयवासी थापाले भन्नुभयो, "मौलाकोटवासीले तेलका रुपमा प्रयोग गर्ने चिउरी नै हो,नत्र किनेर खानुपर्छ ।" चिउरीको बिजौला (फल) सङ्कलन गर्ने र त्यसलाई पेलेर तेल बनाउने गरेको बताउनुभयो ।

चिउरीको तेल सङ्कलन गर्न सके बिक्री गर्ने गरेको बताउनुहुन्छ । चिउरीको तेलबाट चाडपर्वमा रोटी पकाउनदेखि स्वास्थ्यका लागि समेत लाभदायक हुने भएकाले उत्पादन गर्न सके बिक्रीमा समस्या नभएको बताउभयो । घर खानेदेखि चाडपर्वमा रोटी बनाउनका लागि चिउरीको तेल बढी मात्रामा माग हुने गरेको भन्दै थापाले भन्नुभयो, "बजार क्षेत्रमा चिउरीको तेलको माग बढी  छ । माग अनुसार उत्पादन हुन सकेको छैन, घरखर्चका लागि आम्दानी  लिन सकिन्छ ।" 

उहाँका अनुसार आठ सयदेखि नौ सयम्म प्रतिकेजीका दरले चिउरीको तेल बिक्री हुने गर्दछ । जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर तेल उत्पादन गर्न सके घर खानेसँगै बढी भएको बिक्री गरेर आम्दानी गर्ने गरेको सोही ठाउँ निवासी  निवासी आशा मगर बताउनुहुन्छ । घरको कामबाट फुर्सद निकालेर घर नजिकै रहेको जङ्गलमा भएका चिउरीका रुखमा फलेर खसेका फल टिप्न सकिने र त्यसलाई पहिले मिलमा कुटाएर तेलका लागि  कोलमा पेल्ने गरेको भन्दै उहाँले भन्नुभयो, "दुःख नमान्ने र ठुलो परिवार हुने परिवारले चिउरीको तेल उत्पादन गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ ।" 

कुटाएको चिउरीको फललाई आगोमा तताउँदै पेल्नुपर्ने भएकाले परम्परागत काठे कोलकै भर पर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । आर्थिक रुपमा सम्पन्न परिवारले बजारबाट तेल किनेर खाने गरे पनि अधिकांश गाउँलेको चिउरीको तेल बनाउने र घरखर्चका लागि जम्मा गर्ने परम्परागत पेसा बनेको मौलाकोट टोल विकास समितिका अध्यक्ष गङ्गाराम थापा बताउनुहुन्छ । 

प्रत्येक वर्ष साउन महिनामा चिउरी पाकेर खसेका फल (बिजौला) टिप्ने र असोज–कात्तिक महिनामा तेलका लागि पेल्ने गरेकोब बताउनुहुन्छ । उहाँका अनुसार गाउँमा भएका ३०-३५ घर सबैले चिउरीकै तेल खाने गरेका छन् । मौलाकोटसँगै घोराहीका पहाडी क्षेत्रका रुपमा रहेका लापे, सिस्नेरी, मसिना, घोरदौरालगायका ठाउँमा स्थानीयले चिउरीको तेल बनाएर घरायासी कामका लागि प्रयोग गर्ने गर्दछन् । उहाँका अनुसार गाउँमा कम्तीमा १५-२० केजीदेखि बढीमा एक सय ५० केजीसम्म चिउरीको तेल उत्पादन गरेर बिक्री गर्ने गर्दछन् ।