• १५ कात्तिक २०८१, बिहिबार

साफ महिला च्याम्पियनसिप

हामी सक्छौँ, हामी जित्छौँ

blog

फाइनल अघि ट्रफीका साथमा नेपालका कप्तान एन्जिला तुम्बापो सुब्बा र बङ्गलादेशकी कप्तान सवीना खातुन । तस्बिर : एन्फा

काठमाडौँ, कात्तिक १३ गते । यसअघि पाँच पटक साफ महिला च्याम्पियनसिपको फाइनलमा स्थान बनाए पनि नेपाल उपाधिविहीन बन्दै आएको छ । सन् २०१० देखि सुरु भएको यस च्याम्पियनसिपको सातौँ संस्करण चल्दै गर्दा नेपाल सन् २०१६ मा भारतमा भएको चौथो संस्करणबाहेक सबैमा फाइनलमा पुगेको छ । 

सनसनीपूर्ण सेमिफाइनलमा यस पटक भारतलाई टाइब्रेकरमा ४–२ गोलले पन्छाउँदै फाइनलमा पुगेको नेपाललाई उपाधि जित्न बङ्गलादेश पन्छाउने चुनौती छ । पाँच पटकको च्याम्पियन भारतलाई सेमिफाइनलमा हराएको नेपालले बुधबार साँझ ६:३० बजे फाइनलमा पुनः साबिक विजेता बङ्गलादेशको सामना गर्दैछ ।

घरेलु मैदानमै भएको अघिल्लो संस्करणको फाइनलमा नेपाल बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो । नेपाललाई फाइनलमा बङ्गलादेशसँग मिठो बदला लिने मौका छ । नेपाली टिम कप्तान एन्जिला तुम्बापो सुब्बाले विगतको संस्करणमा उपविजेता बनेको तितो क्षणलाई बिर्सेर यस पटक उपाधि जितेर छाड्ने बताउनुभयो ।

‘‘हामीले राम्रो फुटबल खेलिरहेका छौँ । बङ्गलादेश पनि धेरै राम्रो छ । तर हामी बङ्गलादेशलाई हराउनका लागि खेल्नेछौँ । टोलीमा सबै खेलाडीको मनोबल उच्च छ । यस पटक टिम भावना पनि राम्रो छ । ‘हामी सक्छौँ, हामी जित्छौँ’ भन्ने नारालाई स्थापित गर्नेछौँ,’’ फाइनल खेलअघि आयोजित प्रि–म्याच कन्फरेन्समा सुब्बाले भन्नुभयो । 

उहाँले नेपाली महिला फुटबलमा अहिलेको जस्तो राम्रो खेलाडी पाउन अझै आठ दश वर्ष लाग्ने भएकोले यस पटक उपाधि नजिते समयले नपर्खने बताउनुभयो । ‘‘बङ्गलादेशको खेल हेर्दा हामीलाई सजिलो छैन । नेपाली समर्थकले  महिला फुटबललाई गरेको माया हामी मर्न दिँदैनौ । पुरानो गल्ती गर्ने छैनौँ । भारतविरुद्ध १० खेलाडीमा पनि सबैले राम्रो खेल्यौँ । विगत भुलेर आफ्नो पोजिसनमा सबैले ध्यान दिएर खेल्नेछौँ,’’ सुब्बाले भन्नुभयो । 

यसैगरी नेपालका प्रशिक्षक राजेन्द्र तामाङले खेलाडीले व्यक्तिगत रूपमा जितको भावना राखेर खेलेमा उपाधि टाढा नभएको बताउनुभयो । ‘‘बङ्गलादेश प्राविधिक रूपमा धेरै राम्रो छ । साबिक विजेता भएकोले पनि उसले सकेको मिहिनेत गर्नेछ । तर हाम्रो खेलाडी र प्रदर्शन पनि कमजोर छैन । मैदान र खेल्ने बलको साइज उही हो । पाएको मौकालाई सदुपयोग गर्ने र आफ्नो पोजिसनमा राम्रो खेल्न खेलाडीलाई अनुरोध छ । भारतविरुद्धको खेलबाट खेलाडीले प्रमाणित गरिसकेका छन् । दर्शकको साथमा उपाधि जितेर छाड्नेछौँ । यस पटक फाइनल हार्ने छुट हामीलाई छैन,’’ तामाङले भन्नुभयो । 


बङ्गलादेशका प्रशिक्षक पिटर बटलरले फाइनल खेल सोचेभन्दा प्रतिस्पर्धात्मक हुने बताउनुभयो । ‘‘साबिक विजेताको रूपमा हामीलाई चुनौती छ । घरेलु टोलीलाई पनि कम चुनौती छैन । फाइनल खेल रोचक हुनेछ । नेपालले भारतविरुद्ध खेलेको सेमिफाइनल हेर्दा हामीलाई पक्कै सजिलो छैन । तर हामी राम्रो फुटबल खेल्दै प्रतिपक्षलाई सम्मान गर्न चाहन्छौँ,’’ पिटरले भन्नुभयो । 

कप्तान सवीना खातुनले पछिल्लो समय बङ्गलादेशको प्रदर्शनमा सुधार आएकोले फाइनलमा झनै सुधारिएको खेल खेल्ने बताउनुभयो । ‘‘टोलीका युवा खेलाडीले पनि राम्रो खेलिरहेका छन् । नेपाल हाम्रो लागि बलियो प्रतिद्वन्द्वी हो । अघिल्लो संस्करणमा भन्दा नेपालको खेल यस पटक बेजोड छ ।

फाइनलमा नेपालसँग खेल्न हामीलाई सजिलो पक्कै छैन । तर पनि हामी उत्कृष्ट खेल्दै उपाधि रक्षाको बाटोमा हुनेछौँ,’’ खातुनले भन्नुभयो । ३० वर्षीय खातुन सन् २०१० देखि बङ्गलादेश महिला टोलीमा निरन्तर खेल्दै आउनुभएको अनुभवी खेलाडी हुनुहुन्छ ।