• १५ कात्तिक २०८१, बिहिबार

धानमा कालो पोके किराको प्रकोप

blog

धानमा लागेको कालो पोके किराको प्रकोप । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक १३ गते । बाँके जिल्लाको कोहलपुर–१३, भरैयामा पाकेर काट्नका लागि तयार भएको धानबालीमा कालो पोके किराको प्रकोप देखा परेपछि किसान चिन्तित बनेका छन् । 

सो क्षेत्रका किसानहरूले लगाएको सावा मन्सुली प्रजातिको धानमा कालो पोके किराको प्रकोप देखा परेको किसानहरूले जानकारी गराएको कोहलपुर नगरपालिकाको कृषि विकास शाखाले जनाएको छ । 

कोहलपुर नगरपालिकाको कृषि विकास शाखाका अधिकृत चन्द्र बुढाले कोहलपुरको धान उत्पादन हुने क्षेत्रमा लगाइएको धानमा कालो पोके किराको व्यापक प्रकोप फैलिएकोले उत्पादनमा ठुलो असर परेको जानकारी आएको बताउनुभयो । उहाँका अनुसार किसानले कटान गर्न तयारी अवस्थामा रहेको धानमा किरा लाग्दा ठुलो क्षति बेहोर्नुपरेको छ । 

कोहलपुर-१३ का कृषक कमल वलीले चार कठ्ठा क्षेत्रफलमा लगाएको धानबालीमा पोके किराले क्षति गरेको जनाउँदै यो समस्याबाट अन्य किसान पनि प्रभावित भएको बताउनुभयो । उहाँले धानमा कालो पोके किराले धेरै जनाको खेतमा नोक्सानी पुर्‍याएको बताउनुभयो । 

किसानहरूका अनुसार कालो पोके किराले धानको बोटलाई आक्रमण गरी भित्रभित्रै नष्ट पार्ने गर्छ । यो किराले धानको बोक्रामा कालो धब्बा बनाउँदै बोटको पोषण तन्तुलाई नष्ट गरिदिन्छ । जसले गर्दा बोट कमजोर भई बालीमा बालाको विकास हुन सक्दैन । यो किरा हरेक वर्ष धान कटानको समयमा देखिने भएकाले यसबाट जोगिने ठोस समाधान खोज्नु पर्ने माग किसानले गरेका छन् । 

उता, कोहलपुर नगरपालिकाका कृषि विकास शाखाका अधिकृत बुढाले यस समस्याको समाधानका लागि उपचार गरिएको बीउ प्रयोग गर्ने, जैविक कीटनाशक र उचित मलको प्रयोग गर्न सुझाव दिनुभएको छ । उहाँले कोहलपुर कृषि विकास शाखाले कृषकहरूलाई सधैँ रोगविरुद्ध प्रतिरोधात्मक उपायहरू अपनाउन, बीउ छानबिन गरी उपयोग गर्न र खेतमा नियमित अवलोकन गर्न सल्लाह दिँदै आएको बताउनुभयो ।