• १५ कात्तिक २०८१, बिहिबार

दुई शताब्दीको समाजवादबारे बहस

blog

युरोपभर चर्चामा रहेको कम्युनिस्टको भूतले पुँजीपति वर्गलाई तर्साएको र कम्युनिस्ट सिद्धान्त संसारमा अस्वीकार गर्नै नसक्ने गरी स्थापित भइसकेको थियो । सम्पूर्ण मानव समाजको आजसम्मको इतिहास वर्गसङ्घर्षको हो । त्यस्तो सङ्घर्षमा प्रत्येक पटक एउटा वर्ग विजय हुन्छ र अर्को वर्ग पराजित हुन्छ । समाजमा यसले आफ्नो स्वतन्त्रता गुमाएपछि मानिस श्रम गर्छन्, तिनीहरू सम्पत्तिविहीन हुन्छन् । जसले श्रम गर्दैनन्, तिनीहरू अथाह सम्पत्तिका मालिक हुन्छन् । त्यस्तो व्यवस्थाका पक्षपाती पुँजीवादीले व्यक्तिगत स्वतन्त्रताको कुरा गर्नु हास्यास्पद हुन्छ । पुँजीवादीले निर्माण गरेको कानुन, नैतिकता र सांस्कृतिको वकालत मजदुर वर्गका लागि होइन, पुँजीपति वर्गको स्वतन्त्रताको सीमासम्म मात्र रहन्छ । काल्पनिक समाजवादीले पुँजीवादका खराबीको तिखो आलोचना त गरेका थिए । उनीहरूले समानतामूलक आर्थिक राजनीतिक प्रणालीको वकालत त गरे तर त्यो प्रणाली समाजको उत्पादन पद्धतिको जगमा उभिएको थिएन । भावनात्मक दृष्टिले पुँजीवादी र सर्वहाराबिच मेल गराएर आर्थिक अधिकारमा समानता ल्याउने उनीहरूको मान्यता थियो । उनीहरूले पुँजीवादी शोषणको राम्रो चिरफार त गरे तर त्यसका विकल्पमा वैज्ञानिक बाटो देखाउन सकेनन् । 

पुँजीवादको विकास भएका देशमा शोषण र उत्पीडन देखेर फ्रान्सका सेन्ट साइमन, चाल्र्स फुरिय र ब्रिटेनका रोवर्ट ओवेनले पुँजीवादको विकल्पमा एउटा समतामूलक समाजको कल्पना गरे । उनीहरूले पुँजीवादी वर्गसँग साझेदारी गरेर समाजवाद ल्याउने झुटा सपना देखाए तर त्यतिबेला त्यो सम्भव थिएन । २० औँ शताब्दीको पूर्वार्धमा माक्र्सवादी विचारक मानिने ग्राम्सीले फासीवादी विचारविरुद्ध जुध्न र साम्यवादी विचारको विकास गर्ने कुराले विश्वभरि कम्युनिस्ट आन्दोलनमा नयाँ बहसको सृष्टि भयो । कल्पनावादी विचारविरुद्धमा कार्ल माक्र्स, फ्रेडरिक एङ्गेल्स, सत्तासीन पुँजीवादी वर्गले स्वेच्छाले राजनीतिक, आर्थिक अधिकारमा समानता दिन नसक्ने भएकाले वर्गसङ्घर्षमार्फत सत्ताको छिनोफानो गर्ने मान्यता अगाडि सारे । वैज्ञानिक समाजवादका प्रवर्तक माक्र्स एङ्गेल्स नै हुन्, त्यसैले सन् १८४८ मा प्रकाशित कम्युनिस्ट घोषणापत्र नै वैज्ञानिक समाजवादको व्यवस्थित प्रारूप मानिन्छ । 

सन् १८४८ मा बेलायतमा प्रकाशित कम्युनिस्ट घोषणापत्र र वैज्ञानिक समाजवादले विश्वव्यापी लोकप्रियतामा तीव्रता पायो । त्यसबाट आर्थिक राजनीतिक विश्व परिवेशमा माक्र्सको समाजवादी सोच विस्तार हुँदै गर्दा त्यसको विकल्पमा प्रजातान्त्रिक समाजवाद आयो । वैज्ञानिक समाजवादी चिन्तकको श्रेय कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सलाई जान्छ भने प्रजातान्त्रिक समाजवादको प्रतिपादन गर्ने कुनै एक व्यक्ति देखिँदैन तर प्रवक्ताका रूपमा धेरै विद्धान् देखा पर्छन् । जस्तै, वर्नस्टिन, बेलायतका मजदुर नेता क्लेमेन्ट आर एटली, होराल्ड, लास्की, इवान एफएम डार्विन, श्रमिक नेता फ्रान्सिस विलियमले प्रजातान्त्रिक समाजवादको वकालत गरेका छन् । 

फ्रेडरिक एङ्गेल्सको मृत्युपछि सन् १८१७ को दोस्रो इन्टरनेसनलभित्र माक्र्सवादविरुद्ध पहिलो पटक संशोधन प्रस्ताव पेस गर्ने व्यक्ति एडवर्ड वर्नस्टिन हुन् । उनले द्वन्द्वात्मक भौतिकवाद, वैज्ञानिक समाजवाद र सर्वहारा वर्गको अधिनायकत्वलाई अस्वीकार गरी वर्गसङ्घर्षलाई समाप्त पार्दै लैजाने सिद्धान्त अगाडि सारेका थिए । उनले विकासवादी सिद्धान्तलाई अवलम्बन गर्दै समाजवादीलाई अस्वीकार गर्दै प्रजातान्त्रिक समाजवादी सिद्धान्तको वकालत गरे । 

लेनिनले वर्नस्टिनको संशोधनको व्यापक आलोचना गरे किनकि पुँजीवादको औद्योगिक उत्पादनको क्षेत्र २० औँ शताब्दीमा मूलतः पुँजीवादका रूपमा विकसित भइसकेको थियो । २१ औँ शताब्दीमा आइपुग्दा तेस्रो दशकसम्म हेर्दा डाटा पुँजीवादमा सङ्केन्द्रित भएको थियो । १९ औँ र २० औँ शताब्दीमा पुँजीवादले खडा गरेको भीमकाय संरचनाले २१ औँ शताब्दीको अर्थतन्त्रमा बदलाव ल्याएको देखिन्छ । प्रजातान्त्रिक समाजवादीहरूले नैतिकताका आधारमा आदर्श र आशायुक्तका आधारमा व्याख्या गरेका छन् । आरएस टायन्वी प्रजातान्त्रिक समाजवादका अग्रणी चिन्तकका रूपमा देखा परे । उनले १९१९–२१ मा ‘दी आक्विजिटिभ सोसाइटी’ पुस्तक प्रकाशन गरेर प्रजातान्त्रिक समाजवादको पक्षमा आफ्नो तर्क प्रस्तुत गरे । 

पुँजीवादी अवस्थामा बिनाकामको सम्पत्ति थुप्रिन सक्छ, बिनाकामको सम्पत्तिले समाजवादलाई कुनै काम दिँदैन बरु मुनाफा र शक्ति आर्जनमा अग्रसर भएर समाजमा असमानता, नैतिक र बौद्धिक पतन निम्त्याउँछ । यसको निराकरणका लागि सामाजिक व्यवस्थालाई सेवामूलक बनाउनु पर्छ र उद्योगको हितलाई सामाजिक हितको दायराभित्र ल्याउनु पर्छ भन्ने तर्क राख्ने उनीहरूले मात्र होइन, अमेरिकाको प्रजातान्त्रिक समाजवाद पनि बेलायतबाटै विस्तार भयो । अमेरिकाका २८ औँ राष्ट्रपति बुड्रो विल्सन (४ मार्च १९१३) मा न्यू फ्रिडमको सोच लिएका थिए भने ३२ औँ राष्ट्रपति फ्याडाक्र्लन डोलनोले ‘न्यू डिल इकोनोमिक्स पोलिसी’ मा समेत प्रजातान्त्रिक समाजवादको समर्थन गरे । भारतमा राममनोहर लोहिया र जयप्रकाश नारायणले अनुसरण गरेका थिए भने नेपालमा तिनीहरूको प्रभावबाट बिपी कोइरालाले पनि प्रजातान्त्रिक समाजवाद स्वीकार गरे । १९ औँ शताब्दीको मध्यतिर देखा परेको समाजवादी अवधारणालाई इसाह गुरुहरूले बिस्तारै अनियन्त्रित प्रतियोगिताको नीति बहिष्कार गर्दै आए । उनीहरूले श्रमको महìव र सम्पत्तिको सामाजिक उपयोग एवं प्रयोगको सिद्धान्त स्वीकारे । 

खास गरी बेलायतका चाल्र्स फिग्सेल र फ्रेडरिक डेनिसन जस्ता पादरीले इसाई समाजवादी आन्दोलनलाई प्रोत्साहन गरेका थिए । पादरीहरूको उपदेश थियो, गाँस, बास र कपासमा सर्वसाधारणको पहुँच हुनुपर्ने । विपक्षीलाई सुरक्षा हुनुपर्ने, साधारण मानिसले पनि जीवन संयमित र सजिलो प्रकारले व्यतीत गर्न पाउनुपर्ने, यो संसार नै सुखी जीवन दिन प्रयत्नशील हुनुपर्ने जस्ता विषयबारे प्रचार गरे । यसका साथै निःशुल्क पाठशाला, सस्तो शिक्षा लागु गर्नुपर्ने र सहकारी उत्पादनका लागि सङ्घर्ष गर्नुपर्ने जस्ता गुण समाजवादसित मिल्दाजुल्दा कुरालाई पनि इसाई समाजवाद भन्न सकिन्छ । 

माक्र्स र एङ्गेल्सले समकालीन युरोपमा भएको राजनीतिक व्यवस्थाका साथमा विभिन्न प्रकारका चिन्तनको व्याख्या गरेर समाजवादको विवेचना गरेका छन् । घोषणापत्रमा उनीहरूले काल्पनिक समाजवाद, सामन्ती समाजवाद, पुरोहित समाजवाद, निम्न पुँजीपति समाजवाद, इसाई समाजवाद, जर्मन समाजवादलगायतका राज्य प्रणालीको रूपमाथि चर्चा गरेको पाइन्छ । माक्र्स र एङ्गेल्सले पुँजीवादको गर्भबाट समाजवादको जन्म हुने भनी वैज्ञानिक समाजवादको व्याख्या गरे । वैज्ञानिक समाजवादले राज्य र इतिहाससम्बन्धी विद्यमान अभिभूतवादी र आदर्शवादी धारणालाई खारेज गरेको छ । यसले सामाजिक उत्पादन पद्धतिको जगमा उभिएको वैज्ञानिक र भौतिकवादी दृष्टिकोणको विवेचना गरेर निष्कर्ष निकालेको पाइन्छ । त्यसैले माक्र्स र एङ्गेल्सले अगाडि सारेको वैज्ञानिक समाजवाद राज्यसम्बन्धी मौलिक र वस्तुवादी मोडेल भएको ठहर छ । यसका विशेषतामा पुँजीवादको गर्भबाट समाजवादी समाजको जन्म हुन्छ । त्यसले सङ्क्रमणको प्रारम्भिक चरणमा पुँजीवादीका कैयौँ गुण बोकेको हुन्छ । यद्यपि ती गुण उत्पादन पद्धतिको विकासका क्रममा पैदा भएका अनिवार्य तर अस्थायी गुण हुन् । समाजवादको तीव्र विकासको प्रक्रियाले पुँजीवादका अवशेष क्रमशः अन्त गरिदिन्छ । 

पुँजीवाद व्यवस्थामा उत्पादनका साधनमाथि पुँजीपति वर्गको स्वामित्व रहन्छ तर वैज्ञानिक समाजवाद व्यवस्थामा उत्पादनमा साधनप्रति सामूहिक स्वामित्व हुन्छ । यस्तो स्वामित्व दुई रूपमा हुन्छन् (१) राजकीय स्वामित्व (२) सहकारीमा आधारित सामाजिक स्वामित्व हुन्छ । समाजवादी व्यवस्थाले कसैमाथि आर्थिक शोषण गर्दैन । यो उन्नत मानवीय एवं समाजवादी चेतनामा आधारित हुन्छ । सांस्कृतिक क्रान्ति नै यस्तो क्रान्ति हो जसले मानिसको जीवनपद्धतिमा सोच्ने तरिका र श्रमप्रति विश्वास गर्ने, मानिसबिच समानताको भावना विकसित गर्ने काम गर्छ । अहिले युरोपका समाजवादी देश विघटन भएका छन् । एक्काइसौँ शताब्दीका समाजवादी चिन्तक अर्लवड आइस्टाइनले बढी मर्मका साथ सोभियत सङ्घको समाजवाद विघटनप्रति आफ्नो विचार राखेका छन् । उनको भनाइ छ, “राजनीतिक र आर्थिक शक्तिको व्यापक केन्द्रीकरण हुने स्थितिमा शासनतन्त्र (नोकरशाही) लाई अति शक्तिसम्पन्न प्रभुसत्ता र अहङ्कारी हुनबाट कसरी रोक्ने भन्ने ध्यान दिएन् । व्यक्तिको अधिकार कसरी सुरक्षित गर्ने, यसका साथै शासनतन्त्र कसरी रोक्ने भन्ने ध्यान दिएन् । व्यक्तिको अधिकार कसरी सुरक्षित गर्ने, यसका साथै शासनको (नोकरशाही) को शक्तिलाई निष्प्रभावी बनाउने खालका र प्रजातान्त्रिक शक्तिको सुनिश्चित गर्न सकेन ।” 

यिनै विविध कारणले सोभियत समाजवादको विघटन हुन पुग्यो र यसको नकारात्मक असर विश्वभरि नै प¥यो । यसको अर्थ पुँजीवादीको जित पनि होइन र समाजवादको हार पनि अन्तिम होइन, यसमा बहस चलाउने र २१ औँ शताब्दीको समाजवाद कस्तो हुन् भन्नेबारे अर्लवर्ट आइस्टाइन, चे ग्वेभारा, पाउलो फ्रेरे नै बहसका अनुकरणीय चिन्तक हुन् भन्न सकिन्छ । नेपालको सन्दर्भमा पनि कस्तो किसिमको समाजवाद चाहिएको छ ? त्यसबारे बहस हुनु अनिवार्य  छ । 

Author

वामदेव क्षेत्री (घिमिरे)