• १५ कात्तिक २०८१, बिहिबार

झिलीमिली बत्तीको बिक्री घट्यो

blog

काठमाडौँ, कात्तिक १३ गते । तिहारमा प्रयोग हुने विद्युतीय झिलीमिली बत्तीको आयात घटेको छ व्यवसायीले तिहारलक्षित २० करोड रुपियाँ बराबरको झिलीमिली बत्ती आयात गरेका छन् । नेपाल विद्युतीय व्यवसायी महासङ्घका अनुसार विगतका वर्ष तिहारमा ५० करोड रुपियाँको यस्तो सामान आयात गरिएको थियो । 

तिहारको समयमा घरआँगन झिलीमिली बनाउन यस्ता विद्युतीय सामग्रीको प्रयोग हुन्छ । माग कम हुने आकलनमा विद्युतीय बत्तीको आयात आधाभन्दा बढीले घटेको नेपाल विद्युतीय व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष महेन्द्रकुमार राठीले जानकारी दिनुभयो । “सबैतिर मागमा सङ्कुचन आएका कारण झिलीमिली बत्तीको माग पनि कम हुने आकलनमा व्यवसायीले आयात कम गरेका हुन्,” उहाँले भन्नुभयो । यस्ता बत्तीको आयात ९५ प्रतिशत चीनबाट हुने गरेको छ । नयाँ घरहरू निर्माण नभएको र गत वर्ष बिक्री नभएको मौज्दात सामान पनि बजारमा रहेकाले पनि आयात कम भएको उहाँको भनाइ छ ।

बाढीपहिरोका कारणले तातोपानी नाका बन्द हुँदा केही सामान रोकिएकाले बजारमा आउन ढिलाइ भएको व्यवसायीको भनाइ छ । चीनबाट आयात हुने ओखर, फलफूल, झिलीमिली बत्तीलगायतका सामग्री आयातमा समस्या रहँदै आएको छ । तिहारमा व्यापारव्यवसाय फस्टाउने आशामा बसेका व्यवसायीलाई विद्युतीय बत्तीको माग कम हुँदा निराश बनेका छन् । महाबौद्धमा विद्युतीय सामानको व्यापार गर्दै आउनुभएका रमेश पोखरेल बजारमा माग कम हुँदा तिहारलक्षित ल्याएका सामानको व्यापार बढ्ने नदेखिएको बताउनुभयो । “विगतका वर्षमा तिहार आउन एक साताअघिदेखि नै सामान खोज्न ग्राहक आउने गरेका थिए,” उहाँले भन्नुभयो, “अहिले भने तिहार आउन दुई दिन बाँकी रहँदा पनि फाट्टफुट्ट मात्र ग्राहक आउँछन् ।”

व्यवसायीका अनुसार तिहारमा एक सयदेखि तीन सय लिडको झिलीमिली बढी खपत हुन्छ । व्यवसायी अनुसार एक सय लिडको मूल्य १४० रुपियाँ पर्छ । यस्तै वाटर फ्लस बत्तीको चार सयदेखि पाँच सय रुपियाँ पर्ने गर्छ । बिजुलीको दियोको मूल्य डेढ सय रुपियाँ रहेको छ ।