• १२ कात्तिक २०८१, सोमबार

नेपाल एयरलाइन्सको टीकापुरमा परीक्षण उडान

blog

२०८१ कात्तिक १२ गते टीकापुर हवाइमैदानमा नेपाल एयरलाइन्सको जहाज । तस्बिरः एकिन्द्र तिमिल्सेना

एकिन्द्र तिमिल्सेना

टीकापुर कात्तिक १२ गते । टीकापुर हवाइमैदानको पुनः परीक्षण गरिएको छ । परीक्षण उडानमा नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूल, क्याप्टेन महेश विष्ट, उज्जवल सिलवाल, इन्जिनियर सम्राट प्रधान लगायतका प्राविधिक टिम आएको छ ।

पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी पनि टीकापुरमै हुनुहुन्छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परीक्षणका लागि जहाज पठाएपछि यहाँका नागरिक खुशी भएका छन् । 

सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन तथा वन वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले सङ्घीय सरकारले सेवा निरन्तर गर्न सहयोग गरे प्रदेश सरकारले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न अनुदान दिन सक्ने बताउनुभयो । टीकापुरबाट तत्कालीन अवस्थामा अछामको साँफेबगर, जुम्ला, काठमाडौं, धनगढी, नेपालगञ्जमा हवाइ यातायात चलेको थियो ।

बर्दिया क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य लालवीर चौधरी पनि कैलाली, बर्दियाका आठ पालिका, यहाँ सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजना र अन्य परियोजनाका कारण हवाइ यातायात एकदमै आवश्यक रहेको बताउनुभयो । 

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारु पनि सङ्घीय सरकारले जहाजको व्यवस्था गर्नुपर्ने र यहाँका जनताको माग पूरा गर्नुपर्ने बताउनुभयो । वि.सं २०४१ सालदेखि एक दशक प्रयोगमा आएर टीकापु्रकोे हवाइ यातायात बन्द भएको थियो ।

तत्कालीन पर्यटन मन्त्री लोकेन्द्र विष्टमगरले पनि टीकापुर हवाइमैदानमा परीक्षण उडान गर्नुभएको थियो । टीकापुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष चक्रपाणि सापकोटाले हवाई मैदान अब निरन्तर चल्नुपर्ने माग गर्नुभयो ।