• १० मंसिर २०८१, सोमबार

रास्वपाको अपरिपक्व हठ

blog

देशको राजनीतिमा सुधार ल्याउने, सुशासन, नैतिक मूल्य एवं मान्यतामा आधारित राजनीति गर्ने घोषित प्रतिबद्धतासहित साढे दुई वर्षअघि राष्ट्रिय राजनीतिमा पदार्पण गरेका रवि लामिछाने र उहाँको पार्टी एकपछि अर्को विवादमा तानिने क्रम जारी छ । एकै साथ नेपाल र अमेरिकाको नागरिकता तथा राहदानी बोकेका कारण उहाँले करिब दुई वर्षअघि गृहमन्त्री, सांसद तथा पार्टी अध्यक्षको पदबाट समेत राजीनामा गर्नु परेको थियो । यस पटक सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दाको अनुसन्धानका लागि उहाँ हिरासतमा हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने, आफ्नो गिरफ्तारीलाई गलत र पूर्वाग्राही बताउन प्रत्येक सम्भव उपाय गरिरहनुभएको छ । आफ्नो गल्ती र कमजोरीलाई पनि उपलब्धिको रूपमा देखाउन उहाँ प्रयासरत हुनुहुन्छ । ठगीलगायत विभिन्न आरोप लागिसकेका व्यक्तिलाई अनुसन्धान नहुँदै निर्दाेष प्रस्तुत गर्ने गरिएको छ । सत्य के हो भन्ने थाहा हुँदा पनि जानेर गलत व्यक्तिको पक्षमा उभिनु र समर्थन गर्नु बुद्धिमानी तथा दूरदर्शिता होइन । लामिछानेको मिठो आक्रामक भाषणमा लठिएका युवा अब पनि आफूलाई सही ठाउँमा उभ्याउनु आवश्यक भएको छ ।

वैचारिक र ऐतिहासिक आधार नभएका, निश्चित समय अवधिको निश्चित मनोविज्ञानका आधारमा उदाएका सङ्गठनहरू मतदाताको भावना र जनादेशको सम्मान गर्न सक्दैनन् । पक्राउ पुर्जी जारी भएपछि उहाँले आफ्नो बचाउमा सत्ताधारी गठबन्धनका नेताहरू माथि पूर्वाग्राही भएर कारबाही चलाएको आरोप लगाउनुभएको छ तर सहकारीपीडित ठगिएका छन् । सहकारी पीडितहरूलाई न्याय दिनु सरकारको कर्तव्य हो । लामिछानेले आतिनुपर्ने कुनै कारण नै छैन, कानुनलाई आफ्नो काम गर्न दिनु पर्छ । विगतमा पनि गृहमन्त्री भइसक्नुभएका कृष्णबहादुर महरा, बालकृष्ण खाँड, खुमबहादुर खड्का र गोविन्दराज जोशीलगायतका व्यक्ति पक्राउ पर्दा त आकाश खसेको थिएन । उहाँहरू पनि प्रभावशाली नेता नै हुनुहुन्थ्यो । लामिछाने गृहमन्त्रीको पदबाट राजीनामा गर्दाका बखत पनि उहाँको पार्टी सरकारमै थियो । सहकारीपीडितलाई ६५ करोड रुपियाँको हिसाब–किताब त चाहिन्छ नै ? निर्दोष व्यक्तिले सजाय पाएको एउटा पनि उदाहरण छैन । लामिछाने र उहाँ जस्ता वैकल्पिक राजनीतिका अनुहारहरूले खुसी खुसी सरकारलाई सघाउनु पर्ने हो, न्यायको सम्मान गर्नुपर्ने हो ।

आफू पक्राउ परेपछि ठाउँ ठाउँमा विरोध प्रदर्शन गर्न लगाउनु अराजकताको सङ्केत हो । रास्वपाकै एक सांसदले मन्त्री बन्नका लागि पार्टीमा करोडौँ रकम बुझाउनुपर्ने बताएपछि पदमुक्त गरिएको थियो । पार्टीको आन्तरिक कमीकमजोरीको प्रश्न उठाउँदा पार्टीका महासचिवले नै कारबाहीको सामना गर्नु प¥यो । रास्वपा कुन दिशामा जाँदै छ र यसको गन्तव्य के हो, सबैलाई थाहा भइसकेको छ । अरू सबै खराब छन्, केवल आफूलाई मात्रै ठिक ठान्ने मानसिकता अहङ्कारको प्रतीक हो । सबैमा दोष मात्रै हेर्ने तर समाधानका बाटो नदेखाउने हो भन्ने यसलाई गैरजिम्मेवारीपन मात्रै भन्न सकिन्छ । आफ्नो गल्ती कमजोरी ठिक तर अरूको गल्ती कमजोरी गलत भन्ने दोहोरो मापदण्ड लिएर समाजमा परिवर्तन ल्याउन सकिँदैन ।

हाम्रो समाजमा एउटा गलत धारणालाई अतिरन्जित रूपमा प्रस्तुत गर्ने गरिन्छ कि कुनै मान्छे अमेरिकामा लाखौँ रुपियाँ कमाइरहेको थियो । उनले त्यसलाई परित्याग गरेर नेपाल फर्किएका छन् । अतः यस्ता अनुहारलाई त्यागी मानिदिनु पर्छ, इमानदार मानिदिनु पर्छ ? प्रथमतः यस्ता व्यक्तिहरूमा नेपाल र नेपालीप्रति अचानक प्रेमभाव जागृत भएको कारण के हो ? यदि यस्ता व्यक्तिहरू राष्ट्रप्रेमी रहेका भए नेपाल छाडेर अमेरिका जानुपर्ने अवस्था हुँदैन । यथार्थमा यस्ता नवोदित राजनीतिक अनुहारहरू केवल आफ्नो निहित स्वार्थ पूर्तिका लागि राजनीतिमा आएका छन् । देश र समाजको सेवाका लागि होइन । निर्वाचित जनप्रतिनिधि खराब छन् भने सडकको भिडबाट कसैलाई सांसद बनाइदिने त होइन । निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो कार्यक्षेत्रको परिधिभित्र रहेर जनताको हितमा काम गर्नु पर्छ । सडकको भिडले न्याय अन्याय छुट्याउन थालेपछि देशमा अराजकता बढ्छ । अफगानिस्तानमा जस्तो राजनीतिक अस्थिरता निम्तिन सक्छ । न्यायपालिकामाथि हामीले विश्वास गर्नु पर्छ । देशमा कानुनको शासन छ । न्यायपालिकाको सर्वोच्चता छ । संविधानभन्दा माथि कोही पनि छैन । कानुन निर्माता सांसद (सङ्घीय वा प्रादेशिक) ले संविधानमाथि विश्वास गर्न सक्नु पर्छ । जुन संविधानको शपथ लिएर सांसद तथा मन्त्री पदको शपथ लिने गरिन्छ त्यस संविधानमाथि विश्वास राख्नु जनप्रतिनिधिको कर्तव्य, धर्म र राजनीतिक नैतिकता पनि हो ।

देशको राजनीतिमा विकृति आयो, सबै नेता भ्रष्ट छन्, यहाँ राजनीतिक दलहरूको काम नै छैन भन्ने आरोप लगाउँदै राजनीतिमा प्रवेश गरेकासित कुनै राजनीतिक दृष्टिकोण छैन । केवल प्रतिकात्मक र प्रचारात्मक राजनीति गर्न मात्रै जानेका छन् । न कुनै आर्थिक नीति, न सामाजिक नीति र न कुनै स्पष्ट राजनीतिक विकल्प नै छ । यस्ता व्यक्तिहरू राजनीतिमा किन आएका छन् ? यसबारे पनि प्रस्ट छैनन् । यस्ताले समस्याको समाधान कहाँबाट खोजेका छन् ? संविधानभित्रबाट कि संविधानभन्दा बाहिर गएर ? यदि जननिर्वाचित संविधान सभाको दुई तिहाइ बहुमतले बनाएको संविधान गलत हो भने, कुनै एउटा व्यक्तिको निजी परिकल्पनामाथि सबैले विश्वास गरिदिनुपर्ने, किन ? रास्वपाका नेताहरू आफूलाई जनताको आवाज भनिरहेका छन् । केवल २० सिट जितेको पार्टीले आफ्नो जनादेशलाई सर्वोपरि ठानिरहेका छन् तर नेपाली कांग्रेस र एमालेले मिलेर ६० प्रतिशतभन्दा बढी मत र सिट पनि ल्याएका छन् । त्यस जनादेशलाई जनताको आवाज मान्ने कि न मान्ने ? जुन जनताले रास्वपालाई जिताएका छन्, तिनै नेपाली जनताले अरूलाई पनि जिताएका छन् । जनादेशको वैधानिकताको मापन गर्ने यन्त्र के हो ? सडक प्रदर्शनबाट समस्याको समाधान गर्न खोजिए, त्यसबाट अराजकता निम्तिने छ । 

प्रणाली र व्यक्ति बिचमा ठुलो अन्तर हुने गर्छ । प्रणालीभन्दा राम्रो कुनै व्यक्ति विशेष हुनै सक्दैन । त्यसमा पनि लोकतान्त्रिक शासन प्रणालीको विकल्प खोज्नु भनेको अराजकताको मार्ग रोज्नु हो । अराजकताको गन्तव्य तानाशाही र मनपरी हो । कुनै व्यक्ति विशेषले आफूलाई प्रणालीभन्दा माथि ठान्ने काम गर्छ भने त्यहाँ अराजकता निम्तिनु स्वाभाविकै हो । कुनै व्यक्ति ठिक तर प्रणाली खराब कसरी हुन सक्छ ? सारा राजनीतिकर्मी खराब छन्, अयोग्य छन्, शासन प्रणाली पनि खराब छ भन्नेले सारेका वैकल्पिक शासन प्रणाली कुन हो त ? 

नयाँ दल र नेताहरू पनि किन पटक पटक तिनै नेता र दलसँग मिलेर सरकारमा सहभागी हुने गर्छन् । रास्वपा गठन भएको छ महिनाभित्र मन्त्री बन्नुपर्ने त्यस्तो के हतार थियो ? संसद्को उपयोग गरी देशका जल्दाबल्दा समस्यालाई उठाएर सरकारको ध्यानाकर्षण पनि त गराउन सकिन्थ्यो नि ? सरकारमाथि पर्याप्त दबाब पनि बनाउन सकिन्थ्यो तर होइन नयाँ नेता र दलहरूको देखाउने दाँत र चपाउने दाँत त फरक फरक रहेछ । रास्वपा अध्यक्षको पक्राउ विधिसम्मत नै देखिन्छ । कानुनको सम्मान सबैले गर्नु पर्छ ।