• १० मंसिर २०८१, सोमबार

पोखरेली जेठोबुढो प्रवर्धन गरिँदै

blog

फडिन्द्र अधिकारी

लेखनाथ, कात्तिक १२ गते । पोखरेलीले बाहिरका आफन्तलाई पठाउने धेरै जसो कोसेलीमा जेठोबुढो चामल छुट्दैन । बास्नादार, नरम, लामो र स्वादिलो जेठोबुढो चामल यहाँका स्थानीयको भान्सामा विशेष अवसरमा पाक्ने गर्छ । पोखराको पहिचान बन्दै गएको जेठोबुढो धान खेती घट्दै गएपछि यसको प्रवर्धन गर्न थालिएको छ ।

पोखरा महानगरले जेठोबुढो धान लगाउने किसानलाई बिउमा अनुदानदेखि निःशुल्क ढुवानीसमेत गर्र्दै आएको छ । महानगरले जेठोबुढो धानको समर्थन मूल्य प्रतिक्विन्टल नौ हजार पाँच सय तोकेको छ । त्योभन्दा कममा किसानले बिक्री गर्ने अवस्था आइपरे महानगरले क्षतिपूर्ति दिने तयारी गरेको थियो ।

यसपालिबाट यहाँको लोकप्रिय रैथाने धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किन्ने भएको छ । खाद्यले प्रतिक्विन्टल १० हजारमा धान किन्न महानगरसँग सम्झौता गरेको छ । कम्पनीका निमित्त प्रादेशिक प्रमुख रञ्जना केसीले पोखराको कार्यालय र अन्यत्रका कार्यालयबाट किनिएको धानको चामल बिक्री गर्ने योजना सुनाउनुभयो । यहाँ १४ हजार मेट्रिक टन जेठोबुढो धान उत्पादन हुने अनुमान गरिएको महानगरले करिब चार हजार हेक्टरमा जेठोबुढो धान लगाएको छ । त्यसमध्ये २५ प्रतिशत जति बिक्री हुने र बाँकी स्थानीय र किसानले नै खपत गर्ने उहाँको अनुमान छ । 

जेठोबुढोसहित विभिन्न धान खेती हुने पोखराका फाँट पछिल्लो समय नासिँदै गएपछि महानगरले २०७६ देखि किसानलाई प्रोत्साहन गर्न थालेको छ । पाँच रोपनीभन्दा बढीमा जेठोबुढो खेती गर्नेलाई आर्थिक सहयोग गर्नुका साथै २०७७ सालमा समर्थन मूल्य तोेकेर घाटा नहुने सुनिश्चित गरिदिएको थियो । गएको असारमा महानगरले ५० प्रतिशत अनुदानमा करिब आठ हजार किलो जेठोबुढोको बिउ वितरण गरेको थियो । यो धान किसानले मुरीको छ हजारसम्ममा बिक्री गर्दै आएका छन् । कुल धान खेती हुने क्षेत्रफलको ४० प्रतिशतमा जेठोबुढो रोपिने कडरियाको अनुमान छ । 

खाद्य कम्पनीले तत्काललाई जेठोबुढोको खरिदबिक्रीको सम्झौता गरेपछि महानगरका प्रमुख धनराज आचार्यले अब जेठोबुढो धानको बजारीकरण सुनिश्चित भएको उल्लेख गर्नुहुन्छ ।